रातो मच्छिन्द्रनाथः दोस्रोपटक भोटो देखाउँदै बाह्रवर्षे रथजात्रा सम्पन्न

रातो मच्छिन्द्रनाथः दोस्रोपटक भोटो देखाउँदै बाह्रवर्षे रथजात्रा सम्पन्न

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १ कात्तिक ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको दोस्रोपटकको भोटो जात्रा आज देशका उच्चपदस्थ व्यक्तिसमेतको उपस्थितिमा ललितपुरको बुङमतीमा देखाई बाह्रवर्षे रथजात्रा सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा उच्चपदस्थ अधिकारीको उपस्थितिमा गुठी संस्थान ललितपुरका निमित्त कार्यालय प्रमुख बैकुण्ठ आचार्यले रथको चार कुनाबाट उपस्थित सबैलाई भोटो देखाउनुभएको हो ।

विगतका वर्षमा जावलाखेलमा भोटो देखाएपछि विधिवत् रुपमा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा समापन गरिने प्रचलन रहे पनि यस वर्ष १२ वर्षको विशेष मेला परेकाले जावलाखेलमा असोज २५ गते भोटो देखाएपछि पुनः दोस्रोपटक आज बुङमतीमा रहेको जावलाखेलमा भोटो देखाइएको हो ।

यसैबीच, गत वैशाख ६ गते देवतालाई रथमा रथारोहण गरी ९ गतेदेखि रथजात्रा सुरु भएको भए पनि वैशाख १२ गते गएको भूकम्पका कारण रथमा क्षति भएकाले पुनः निर्माण गरी असोज ४ गते दोस्रोपटक रथारोहण गरी असोज ५ गतेदेखि रथजात्रा सुरु गरिएको हो ।

प्राचीनकालमा कर्कोटक नागराजकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरुप पाएको बहुमूल्य गहना र हीराजडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी गराउनुभयो ।

प्रमुख अधिकारीका अनुसार प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा यो भोटो कसको हो ? भनी देखाइने गरिन्छ । परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरुप नागराजले दिएको विश्वास गरिन्छ । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको प्राचीन मान्यता छ ।

बाह्रवर्षे विशेष मेला भएकै कारण जावलाखेलमा भोटो देखाउनासाथ रथलाई बुङमती लगिएको थियो । रथलाई बुङमती लगिएको चौथो दिनको दिन आज भोटो देखाई रथजात्रा समापन गरिएको हो । अन्य समयमा जावलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथ देवतालाई खटमा राखेर विशेष बाजागाजासहित बुङ्मतीमा लगेर देवताको मन्दिरमा राख्ने परम्परा रहेको थियो ।

बाह्र वर्षको विशेष मेला भएर नै यस वर्ष रथको सबै सामग्री नयाँ राखिएकाले रथ अत्यन्तै सुन्दर देखिएको थियो । निर्माणको काम भने गतबर्ष मङ्सिरदेखि नै सुरु गरेको निर्माणकर्मी दिलकुमार बारही बताउनुहुन्छ । मच्छिन्द्रनाथको भोटो जात्राका अवसरमा भोटो हेरेमा वर्षभरि विभिन्न रोगब्याधीबाट मुक्त हुने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पुजारी बिनोद बज्राचार्य बताउनुहुन्छ ।

पुजारी बज्राचार्यका अनुसार भोटो हेर्न ललितपुर मात्र नभएर काठमाडौँ, भक्तपुर तथा आसपासका जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । जात्रा समापन हुने वित्तिकै रथका पुजारीले देवतालाई विशेष बाजागाजासहित खटमा राखी बुङ्मतीस्थित देवताको मन्दिरमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी