काठमाडौँ, २८ असोज । नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न अवरोध हटाउन वार्ताका लागि उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार नयाँदिल्ली जानुहुने भएको छ ।
तीनदिने भ्रमणका क्रममा उपप्रधानमन्त्री नेतृत्वको टोलीले भारतका विदेश मन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग दुई मुलुकबीच यातायात र पारवहनको क्षेत्रमा उत्पन्न समस्या समाधानमा केन्द्रित रहेर वार्ता गर्नेछ ।
परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिका व्यवधान हटाउनेमा केन्द्रित रहेर छलफल गर्ने बताउनुभयो ।
आफ्नो भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन मद्दत मिल्ने र व्यापार, पारवहनलगायत पछिल्ला जटिलता हल गर्न आफू सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
“छिमेकी भारतसँगको सम्बन्ध सुधारमा भ्रमण फलदायी हुने र भन्सार नाकाका समस्या समाधानमा भारतबाट सहयोग हुनेमा म विश्वस्त छ”– उपप्रधानमन्त्री थापाले भन्नुभयो ।