भक्तपुर, २७ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भारतले गरेको नाकाबन्दी हटाउन कूटनीतिक पहल थाल्नुपर्ने बिषयमा छलफल भएको छ ।
बालकोटस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा नाकाबन्दी हटाउन कूटनीतिक पहल थालि भारतबाहेक पनि अन्य विकल्प खोज्नु पर्ने बारेमा छलफल भएको छ ।
भेटवार्तामा सहभागी नेमकिपाका सचिव सुनिल प्रजापतिले भारतको नाकाबन्दी खोल्न पहल गर्नुपर्ने, पेट्रोलियम पदार्थको आयातमा भारतसँग मात्रै निर्भर नभई चीनलगायत अन्य देशसँग पनि विकल्प खोज्नु पर्नेबारेमा छलफल भएको जानकारी दिनुभयो ।
प्रजापतिले भन्नुभयो, “सरकार चीनसँगको नाका खोल्न र विकल्प खोज्न अगाडि बढ्नुपर्ने बारेमा छलफल भयो, त्यसमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभयो ।”
भेटका अवसरमा उहाँहरुबीच दलहरुबीच राजनीतिक संयन्त्र बनाउने र संयन्त्रको निर्णयानुसार अगाडि बढेमा सरकार स्थिर हुनुका साथै जनताको भावनाअनुसार काम गर्न सकिने बारेमा समेत छलफल भएको थियो ।
करिब ४५ मिनेट भएको भेटवार्तामा देशको शिक्षालाई परम्परागत शैलीभन्दा पनि अहिलेको आवश्यकताअनुसार परिमार्जन गरेर लैजाने र स्वास्थ्य तथा शिक्षामा जनताको पहुँच हुनुपर्नेमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री ओली तथा नेमकिपाका तर्फबाट अध्यक्ष बिजुक्छे, सचिव प्रजापति र विदेश विभाग प्रमुख एवम् सांसद प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।