निगमले एकै दिनमा साढे सात लाख लिटर इन्धन बाँड्यो

निगमले एकै दिनमा साढे सात लाख लिटर इन्धन बाँड्यो

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २६ असोज । दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले आज सात लाख पचास हजार लिटर इन्धन उपलब्ध गराएको छ ।

निगमले आज वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा सोमबारदेखि नै लाइन बसेका निजी सवारी साधनलाई काठमाडौँ उपत्यका १२५ पेट्रोल पम्बाट उपलब्ध गराएको हो । निगमले छ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल वितरण गरेको छ ।
निजी सवारी साधनको लामो लाइन लागेका सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसिकएको निगमका प्रवक्ता दीपक बरालले राससलाई जानकारी दिनुभयो ।
मागअनुसार पेट्रोल पम्पलाई इन्धन दिन नसक्दा लाममा बसेका सबैलाई वितरण गर्न नसकिएको निगमको भनाइ छ । निगमले निजी सवारीसाधनमध्ये प्रति मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराएको हो ।
निगमले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नभएसम्म निगमले भोलिपनि निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउने तयारी गरेको छ । तर थप इन्धन आपूर्ति नहुँदा वितरण गर्न नसकिने जानकारी दिँदै निगमका प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म खाना पकाउने ग्यास वितरण गर्न नसकिने बताउनुभयो ।

भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि निजी सवारी साधनलाई तेल बाँड्न बन्द गरेर जोरबिजोर प्रणालीका आधारमा सार्बजनिक सवारी साधनलाई मात्रै बाँडिएको थियो ।

निगमले सामान्यरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । तर आवश्यक परिमाणमा पेट्रोलियम पदार्थको आयात हुन सकेको छैन ।

ललितपुरको साझा पेट्रोलपम्ममा शनिबारदेखि नै मोटरसाइकल, स्कुटर र कारहरुको लाइन लागेको थियो । सो लाइन पाटन कृष्ण मन्दिरभन्दा पनि परसम्म पुगेको थियो । तेल भर्ने गाडीहरूको दोहोरो तेहरो लाइनले यातायात ट्राफिक व्यवस्थापनमा समेत असहज भएको छ ।

त्यसैगरी भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा इन्धन भर्नका लागि पालो कुरेर बसेका मोटरसाइकलको तथा सवारी साधनको लाइन बबरमहल पर पुगेको थियो । नयाँबानेश्वरस्थित पेट्रोल पम्पमा तेल भर्नेहरुको लाइन शङ्खमुलसम्म पुगेको थियो । नक्सालस्थित प्रहरीको पेट्रोलपम्पको लाइन नागपोखरी पुगेको थियो ।

निगमले दसैंमा काठमाडौँबाट घर जान चाहनेलाई सहज होस् भनेर निजी मोटरसाइकल, कार र भ्यानलाई आज इन्धन उपलब्ध गराएको हो ।
उपत्यकाको सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।

निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई जोरबिजोर नम्बरका आधारमा, माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी