रुपन्देही, २४ असोज ।
रूपन्देहीमा व्यावसायिक पशुपालनको विकास भएसँगै दूध उत्पादनमा वृद्वि हुँदै गएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार आव २०७१÷७२ मा एक लाख ३० हजार ५७५ मेट्रिक टन दूध उत्पादन भएको छ ।
यो रु छ अर्ब ७८ करोड ९९ लाख बराबरको दूध हो । किसानले घाँसमा आधारित पशुपालन गर्दा पछिल्ला वर्ष जिल्लामा दूग्ध उत्पादन फस्टाउँदो छ ।
कार्यालयका पशु चिकित्सक प्रेमबहादुर मल्लका अनुसार अघिल्लो आव २०७०÷७१ माभन्दा यसवर्ष जिल्लामा दूध उत्पादन १ दशमल ५ प्रतिशतले वृद्वि भएको छ । गतवर्ष एक लाख २८ हजार ६३० मेट्रिक टन अर्थात् रु छ अर्ब ६८ करोड ८७ लाख ६० हजार मूल्य बराबरको रहेको मल्लले बताउनुभयो ।
पशुसेवा कार्यालयका प्रमुख गान्धीराज उपाध्यायका अनुसार जिल्लाका एक लाख ३१ हजार ७१४ दुधालु गाई÷भैँसीबाट दैनिक नौ लाख २१ हजार ९३८ लिटर दूध उत्पादन हुन्छ । उपाध्यायले ७३ हजार ७९० भैँसी र ५७ हजार ९३४ दुधालु गाई रहेको जानकारी दिनुभयो ।
जिल्लाको दक्षिणी क्षेत्रको अधिकांश दूध भारतीय बजारमा समेत जाने गरेको छ । अहिले जिल्लाका किसानले प्रतिलिटर रु ५० देखि रु ५२ मा दूध बिक्री गर्छन् भने बजार मूल्य प्रतिलिटिर रु ७० कायम गरिएको छ ।
उत्पादित दूधमध्ये ५० प्रतिशत जिल्लामा नै खपत हुने गरेको छ भने बाँकी काठमाडौँ, चितवन र पोखरासम्म पुग्ने गरेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।
उहाँले व्यावसायिक पशुपालन र पशु फार्ममा स्थानीयको सट्टा उन्नत गाई÷भैँसी पाल्ने सोहीअनुसारको आहार खुवाउने र स्याहारसुसार गर्ने गरेकाले जिल्लामा दूध उत्पादन बढ्दै गएको बताउनुभयो । जिल्लामा ३९४ गाई फार्म र २०२ भैँसी फार्म रहेका छन् ।
किसानले व्यावसायिक पशु फार्म सञ्चालन गरेका छन् । पशु सेवा कार्यालयले तीन समूहमा पशु फार्म दर्ता गर्ने गरेको छ । पाँच देखि १० वटा दुहुना गाई÷भैँसी पालेका किसानको लागि रु दुई लाख, १० देखि ३० वटा पाल्नेलाई रु तीन लाख र ३० भन्दाबढी पशु पाल्नेलाई रु चार लाख अनुदान दिने कार्यालयले बताएको छ ।
दूधबाट खुवा, आइसक्रिम, क्रिम दहीलगायत परिकारसमेत निर्माण गरी बिक्री वितरण हुन्छन् । पशु सेवा कार्यालका प्राविधिक सुरेश मिश्रले यसवर्ष किसानका लागि विभिन्न जातका घाँसको वितरण, गाईका नस्ल सुधार, गोठ सुधार, डेरी सुदृढीकरण, युवा लक्षित सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा कृषि क्षेत्रमा भन्दा किसानको आकर्षण पशुपालनमा बढ्दै गएको छ ।