काठमाडौ २३ असोज ।
भारतले गरेको अघोषित नाकाबन्दी र लामो समयदेखि तराई मधेशमा जारी आन्दोलनका कारण नेपालको अर्थतन्त्रमा ठुलो असर परेको छ ।
नयाँ संविधानमा असन्तुष्टी जनाउदै झन्डै दुई महिना देखि तराई मधेशमा जारी आन्दोलन र भारतको नाकाबन्दीले करिब एक खर्ब बढीको घाटा भइसकेको छ भने अर्थिक वृद्धिदरमा पनि प्रभाव पर्ने देखिएको छ ।
सरकारले चालु अर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षा गरेको थियो । तर पछिल्ला गतिविधिहरुका कारण यो ३ दशमलव ५ प्रतिशतमा झर्नसक्ने सम्भावना बढेको पूर्वअर्थ सचिव रामेश्वर खनालले बताउनुभयो ।
उहाँका अनुसार नाकाबन्दी र आन्दोलनका कारण अर्थिक वृद्धिदर लक्ष्यको झन्डै आधा झर्ने देखिन्छ । भारतको नाकाबन्दी लामो समयसम्म जारी रहे अर्थिक वृद्धिदर ३ प्रतिशतमा झर्ने खनालको भनाई छ ।
जुन गत वर्षको भूकम्पबाट भएको असर बराबरको हुनेछ । गत वर्ष पनि भूकम्पका कारण आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित भएको थियो ।
