काठमाडौँ, २१ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
सो समूहका तर्फबाट सागर पाण्डे नेतृत्वको समूहले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा टानको ३९आँैं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि पदाधिकारी र सदस्यसहित १७ पदमा उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
यसअघि बुधबार चन्द्रप्रसाद रिजाल समूहको संयुक्त व्यावसायिक समूहले उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो । यो सँगै आगामी असोज २८ गते हुने टानको नयाँ कार्यसमिति निर्वाचनका लागि औपचारिक रुपमा दुईवटा व्यावसायिक समूहको प्रतिस्पर्धा हुने पक्का भएको छ ।
सागर पाण्डे समूहको अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्ष पदमामा नीमा शेर्पा, प्रथम उपाध्यक्षमा विद्या हिराचन, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा पासाङ शेर्पा, सचिवमा छेटुप तामाङ, कोषाध्यक्ष लीलाबल्लब दाहाल, सहकोषाध्यक्षमा शङ्कर पाण्डे तथा सदस्यमा नकुल देवकोटा, महेश बुढामगर, शिवहरि सापकोटा, पेम्बा शेर्पा, अर्जुन पाण्डे, रवि भट्ट, राजनप्रसाद ढुङ्गाना, तारा राना र हिमलाल घले रहनुभएको छ ।
अध्यक्ष पदका प्रत्याशी पाण्डे एकीकृत नेकपा (माओवादी) निकट राष्ट्रिय पर्यटन व्यवसायी मञ्चका तर्फबाट हुनुहुन्छ । उहाँलाई नेपाली काँग्रेसनिकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्घको साथ रहेको छ ।
पत्रकारसम्मेलनमा जारी सो समूहको प्रतिबद्धतापत्रमा व्यावसायिक हकहित, पर्वतीय पर्यटनको विकास, राज्य र व्यवसायी बीचको सम्बन्ध तथा भूकम्पपछिको पर्यटन प्रवद्र्धन सम्बन्धी एजेन्डा अघि सारिएको छ ।
यसैगरी पर्वतीय पर्यटन र पदयात्रा पर्यटनको नीतिगत सुधार, मजदुरको समस्या समाधान तथा व्यावसायिक एकतालाई बलियो बनाउनेजस्ता कार्यक्रमलाई जोड दिइएको छ ।
सो अवसरमा अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पर्यटन र पदयात्रा पर्यटन प्रवद्र्धन विकासका लागि आफ्नो समूहले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा टानका अध्यक्ष रमेश धमलाले वर्तमान कार्यसमितिले पूरा गर्न नसकेका योजना कार्यक्रमलाई अबको नेतृत्वले पूरा गर्नेगरि नयाँ समूह खडा गरिएको बताउनुभयो ।