काठमाडौँ, १९ असोज ।
रावलपिण्डी चेम्बर अफ कमर्श पाकिस्तानको आयोजनामा आजबाट छैटौँ पाकिस्तानी मेला सुरु भएको छ । युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भएको मेलाको उद्घाटन गर्दे पूर्व गभर्नर एवम् नेपाल—पाकिस्तान साँस्कृतिक तथा मैत्री सङ्घका अध्यक्ष हिमालय शमशेर राणाले पाकिस्तानी सामान नेपाली बजारमा प्रदर्शन गरेर नेपाल—पाकिस्तान सम्बन्ध थप बलियो हुने बताउनुभयो ।
उहाँले नेपाल—पाकिस्तान दौत्य सम्बन्ध धेरै पुरानो भएको स्पष्ट पार्नुभयो । राणाले पाकिस्तानमा उत्पादित सामाग्री नेपाली उपभोक्ताले मन पराएको भन्दै पाकिस्तानी सामाग्रीलाई थप आयात गर्नुपर्ने बताउनुभयो । नेपालका लागि पाकिस्तानी राजदूत अहिद साउद खोसाले पाकिस्तानी सामान नेपाली बजारमा प्रयोगयोग्य भएको बताउनुभयो ।
मेलामा ओनेक्स ढुङ्गाबाट बनेका प्लेट, गिलास, कप, कपडा, फलफुल, फर्निचर, कस्मेटिक, ज्याकेटलगायत सामाग्रीका तीस वटा स्टल राखिएका छन् । मेला आगामी सोमबारसम्म चल्नेछ ।