काठमाण्डौ, १७ असोज ।
नेपालविरुद्ध लगाएको नाकाबन्दी खुलेको दाबी गर्ने भारतीय पक्षले नेपाली बजारमा इन्धन पठाउन अस्वीकार गरेको छ ।
पूर्वी नाकाबाट खाना पकाउने ग्याँस बोकेको एउटा ट्यांकर चाहिँ आज साँझ काँकडभिट्टा नाका भित्रेको छ । आजदेखि लागु हुने गरी नाकाबन्दी खोल्ने भनेको भारतीय संस्थापनले विभिन्न नाकाबाट अन्य सामान पठाए पनि नेपाली बजारमा हाहाकार भइसकेको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस पठाउन आलटाल गरिरहेकै छ ।
आज साँझ मात्र एउटा बुलेट ग्याँस पठाएको काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि असन्तोष प्रकट गर्दै विभिन्न सन्धी सम्झौता लत्याएर नाकाबन्दीमा उत्रिएको भारतीय कदमले नेपाली जनजीवन पूरै प्रभावित भइसकेको छ । १० दिन लामो नाकाबन्दीले इन्धन अभाव चुलिएको छ ।
अधिकांश सवारी साधनहरु थन्किएका छन् । यस्तो बेलामा नाकाबन्दी खुल्ने खबरले आपूर्ति व्यवस्था सहज हुने अनुमान र आशा गरिएको भएपनि बिश्वस्त रहने आधार तय भईसकेको छैन ।