काठमाण्डौ,९ असोज ।
बागलुङ नगरपालिकाले एकीकृत सम्पत्तिकर लागू गरेपछि नगरवासी करको दायरामा आउने क्रम बढेको छ । आव ०७१\०७२ देखि लागू भएको एकीकृत सम्पत्तिकर तिर्नेमा हालसम्म छ हजार ६८१ जना करदाता नगरपालिकामा सूचीकृत छन् ।
बर्से्नि एकीकृत सम्पत्तिकरप्रति करदाताको आकर्षण बढेको नगरपालिका कार्यालयले जनाएको छ ।वर्षौंसम्म कर नतिरी बसेका नगरवासी अहिले समयमै कर तिर्न थालेका छन् । झन्झटिलो र बढी तिर्नुपर्ने पुरानो कर प्रणालीको सट्टामा एकीकृत सम्पत्तिकर लागू भएपछि करदातामा सहजता थपिएको हो ।
करदाताले घरजग्गा कर, धुरीकर र मालपोत करको सट्टामा एकसाथ एकीकृत सम्पत्तिकर बुझाउन पाएका छन् । सम्पत्तिकरले नगरपालिकाको राजस्व सं्रकलनमा पनि वृद्धि ल्याएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
पहिलो आवमा रु ३३ लाख ९५ हजार कर सङ्कलन भएकामा गत आवमा रु ४५ लाख २६ हजार उठेको अधिकृत सुवेदीले जानकारी दिनुभयो । नगरक्षेत्रमा रहेका करिब १२ हजार करदातालाई एकीकृत सम्पत्तिकरको दायरामा ल्याउने लक्ष्य रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
तोकिएको समयभन्दा ढिलो कर तिर्न आए प्रचलित नियमअनुसार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । नगरपालिका कार्यालयमा सम्पत्ति विवरण सङ्कलन गर्ने र कर तिर्ने दुवै व्यवस्था मिलाइएको छ । व्यवस्थित, वैज्ञानिक र प्रगतिशील कर प्रणाली अपनाउँदै नगरपालिकालाई वित्तीय दृष्टिकोणबाट सक्षम बनाउने योजना रहेको अधिकृत सुवेदीले बताउनुभयो ।