झापा , ३ असोज ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका छ जिल्लाका चार हजारभन्दा बढी घर परिवारको करिब रु दश करोड ५० लाख ऋण मिनाह गरेको छ ।
संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा योजना कार्यक्रमअन्तर्गत विपन्न परिवारका सदस्यलाई प्रदान गरिएको सो रकम मिनाह गरेको हो । सहकारीमा आबद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि परिवारका अन्य सदस्यले आर्थिक भार बेहोर्नु नपरोस् भनेर सहकारीले सञ्चालन गरेको उक्त कार्यक्रमबाट तीन वर्षको अवधिमा चार हजार १५३ घरपरिवारका सदस्यले लिएकोे उक्त ऋण मिनाह गरिएको हो ।
कार्यालयका वरिष्ठ विभागीय प्रमुख दीनेशबहादुर निरौलाले तीन वर्ष अगाडि सहकारीले जिल्लामा नै पहिलो पटक सञ्चालन गरेको यो अभियानअन्तर्गत आबद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि उसले लिएको सम्पूर्ण ऋण मिनाहा गर्दै मृतकका परिवारलाई काजकिरिया खर्चबापत थप २४ प्रतिशत रकम प्रदान गरेको बताउनुभयो ।
ऋणी सदस्यले लिएको ऋणको सम्पूर्ण रकम तिर्न नसक्दै उसको मृत्यु भएमा सहकारीले मृतकको परिवारलाई तिरेको ऋण फिर्ता गर्दै तिर्न बाँकी ऋणसमेत मृतकका हकवालालाई दिने गरेको निरौलाको भनाइ छ । उहाँले सहकारीमार्फत जुनसुकै शीर्षकमा आफ्ना सदस्यले ऋण लगेको भए पनि उसको मृत्यु भएमा तिर्दै आएको रकम कार्यक्रमअनुसार फिर्ता गर्ने र तिर्न बाँकी रकमसमेत उसको परिवारलाई उल्टै सहकारीले प्रदान गर्छ भन्नुभयो ।
सामाजिक सुरक्षा कार्यक्रम एक हिसाबले बिमा गरेजस्तै हो भन्दै उहाँले भन्नुभयो– “कारणबस ऋणी सदस्यको मृत्यु भएमा उसको परिवारले भविश्यमा ऋणको चिन्ता बेहोर्नु नपरोस् भनेर सहकारीले यस्तो कार्यक्रम ल्याएको हो ।”
सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार गरिबी निवारणका लागि लक्षित समुदायका महिलालाई सङ्गठित गर्दै सहकारीले आयआर्जन कार्यक्रमका लागि सहकारीले ऋण समेत लगानी गरेको छ । “सहकारीले ऋणी सदस्यको मृत्यु हुँदा प्रदान गरिने सेवाबाहेक सदस्यका श्रीमान्को मृत्यु हुँदासमेत काजकिरिया खर्चका लागि रु सात हजार ५०० प्रदान गर्ने गरेको छ” उहाँले भन्नुभयो ।
त्यस्तै सहकारीले ऋणी सदस्य सुत्केरी भए रु एक हजार रु ५०० भिटामिन खर्चका लागि प्रदान गर्ने गरेको छ । यो सुविधा दुई सन्तानमात्र जन्माउने सदस्यका लागि लागू हुने गिरीले बताउनुभयो ।
यसैगरी सहकारीले आफ्ना सदस्यलाई सर्पले डसे वा कुनै जङ्गली जनवारले टोकेर घाइते भएमा उपचार खर्चका लागि रु तीन हजार र दैवी वा प्रकृतिक प्रकोपमा परी घरमुलीको मृत्यु भएमा रु पाँच हजार क्षतिपूर्तिबापत रकम प्रदान गर्ने गरेको छ ।
विसं २०५२ बाट कारोबार सुरु गरेको सहकारीमा अहिले ८५ हजार ४७८ जना महिला र पुरुष एक हजार ५२२ जना सदस्य आबद्ध छन् । जिल्लाको चारपानेमा मुख्य कार्यालय रहेको सहकारीको कार्यक्षेत्र झापासहित इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुरमा रहेको बताइएको छ । संस्थाका चारवटा इलाका कार्यालय र ४५ वटा सेवा केन्द्रमा गरी ३१३ जनाले प्रत्यक्ष रोगजार समेत पाएको कार्यालयले जनाएको छ ।
सहकारीको नाफा रु दश करोड
विसं २०५२ बाट कारोबार सुरु गरेको सहकारीले आव २०७१÷७२ मामात्रै रु १० करोड ५० लाख नाफा गरेको छ ।
कार्यालयका वरिष्ठ विभागीय प्रमुख निरौलाले दिएको जानकारीअनुसार रु २२ करोड ३४ लाख सेयर पुँजी रहेको सहकारीमा आबद्ध सदस्यबाट रु एक अर्ब ३५ करोड ५८ लाख बचत गर्न सफल भएको छ ।
सहकारीले आफ्ना सदस्यलाई रु दुई अर्ब चार करोड छ लाख ऋण लगानी गरेको कार्यालयले जनाएको छ ।
सहाराले रु पौने तीन करोड कर ति¥यो
आव २०७१÷७२ मा रु १० करोड नाफा गर्न सफल सहारा नेपालले रु दुई करोड ८० लाख ४९ हजार ८३६ आन्तरिक राजस्व कार्यालय मेचीलाई कर बुझाएको छ ।
आव २०७१÷७२ मा पारिश्रमिकबापत रु ५२ लाख ५८ हजार ६१७, सामाजिक सुरक्षा करबापत रु १५ लाख ३३ हजार २६६, लेखा परीक्षण करबापत रु एक हजार २७५, घर भाडाबापत रु १३ लाख १० हजार ४४८, ठेक्का करबापत रु ११ लाख १० हजार ६९५ र संस्थागत करबापत रु एक करोड ८८ लाख ३५ हजार, ९३५ कर तिरेको छ ।
यस्ता छन् सहकारीका कार्यक्रम
विपन्न समुदायको जीवनस्तर उकास्न सहकारीले बिनाधितो घरदैलोमा ऋण लगानी र बचत सेवा सञ्चालन गर्दै आएको बताइएको छ ।
त्यस्तै साइनो हाम्रो सहारा कार्यक्रमअन्तर्गत पशु साटासाट कार्यक्रम, विपन्न समुदायको आवास कार्यक्रम, उज्यालो गाउँ बनाउँ कार्यक्रम र खुला दिसामुक्त गाउँ बनाउ अभियान सञ्चालन गर्दै आएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।
यसैगरी घरभित्रको धुवाँमुक्त कार्यक्रमसमेत सहकारीले सञ्चालन गर्दै आएको बताइएको छ ।