काठमाडौँ, २ असोज । संविधानसभाबाट संविधान जारी हुँदै गर्दा त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा पनि परेको छ । गत साता दुई अङ्कले बढेको नेप्सेमा यस साता थप सुधार देखिएको हो ।
यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.०९ अङ्कले बढेको छ । गत साता ११६८.७१ बिन्दुमा पुगेको नेप्से यो साता ११९६.०२ अङ्कमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीको १६ हजार २७६ कारोबारबाट रु तीन अर्ब ३१ करोड ७१ लाख ५६ हजार बराबरका ६६ लाख २० हजार १४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७.९३ प्रतिशत बढी हो ।
गत साता १६२ कम्पनीको १० हजार ९३३ कारोबारबाट रु दुई अर्ब १७ करोड २१ लाख ७७ हजार बराबरका ५४ लाख ६२ हजार ८४० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यो साता नेप्सेमा वाणिज्य बैंक १५.९४, विकास बैंक २२.९१, वित्त कम्पनीको ६.०९, होटल ३८.५८, जलविद्युत् कम्पनीको ४९.०३ र अन्य समूहको परिसूचकमा ४.७ अङ्कले वृद्धि भएको छ ।
त्यसैगरी बिमा समूहको परिसूचकमा ३३.५४ र उत्पादनमूलक समूहको परिसूचकमा १०४.५२ अङ्कले कमी आएको थियो भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.९७ अङ्कले बढेर २५८.५ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा अरुण फाइनान्स अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा प्राइम कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता एनसिसी बैंकको ५५ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।