काठमाडौँ, ३१ भदौ । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ ।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो ।
क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न उपयोगी हुने कम्पनीले जनाएको छ ।
अठार सिट क्षमताको सो विमानलाई अहिलेसम्मकै महङ्गो सात मिलियन अमेरिकी डलर (नेरु ७० करोड) फ्याक्ट्री मूल्य तिरिएको छ । बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विमान खरिद गरिएको बताइएको छ ।
विगत १९ वर्षदेखि उडान भर्दै आएको यति÷तारा एयरको पछिल्लो नयाँ विमानसँगै जम्मा १५ वटा विमान भएको छ ।
यसमध्ये तारा एयरका पाँचवटा ट्विनअटर विमानले नेपालका ग्रामीण गन्तव्य खासगरी ताप्लेजुङ, फाप्लु, मनाङ, डोल्पा, रारा, जुम्ला र सिमीकोटमा उडान भर्दै आएको छ ।
यति एयरले हाल देशका २९ वटा गन्तव्यमा उडान भर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र रायले जानकारी दिनुभयो ।
नयाँ भित्र्याएको ट्विनअटर विमानको अत्याधुनिक इन्जिन जेट विमानको जस्तै क्षमता भएकाले सुरक्षित यात्राको लागि भरपर्दो विमान भएको वरिष्ठ विमानचालक पेम्बा शेर्पाले बताउनुभयो ।
नयाँ ट्विनअटर नाइन एन–एकेल कलसाइन विमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घरेलु विमानस्थलमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा पर्यटनमन्त्री शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र त्यसको ज्वलन्त उदाहरण निजी विमान कम्पनीले दुर्गम तथा पहाडी क्षेत्रमा पु¥याइरहेको सेवा हो भन्नुभयो । नयाँ विमानले भूकम्पपछिको साहसिक ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले हाल पर्यटन मन्त्रालयले एक दुर्गम जिल्ला कम्तीमा एक विमानस्थल निर्माण गर्ने नीतिअनुरुप विमानस्थल विस्तारमा लागेको र भएका विमानस्थलको स्तरोन्नति गरिरहेको जानकारी दिनुभयो ।
यति÷तारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रायले साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘हिमालयन ग्रेट ट्रेल’ को लोगो तारा एयरका सबै जहाजमा आगामी डिसेम्बरदेखि अङ्कित गराइने बताउनुभयो ।