काठमाण्डौ,२९ भदौ ।
हिमाली जिल्ला मुस्ताङका तीन गाविसमा हिउँचितुवाको आतंक बढेपछि स्थानीयवासी त्रसित बनेका छन । रातीकोे समयमा गोठमा आएर किसानले पालेको च्याङ्ग्रा, याकको बाच्छाबाच्छी र घोडालाई समेत आक्रमण गर्न थालेपछि स्थानिय चिन्तित बनेका हुन ।
पछिल्लो एकहप्ताको अवधिमा चराङ, मार्फा र कागबेनी गाविसमा शृङ्खलाबद्ध रुपमा हिउँचितुवाले पशुचौपायालाई आक्रमण गरेको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ ।
चराङस्थित चराङ गाउँमा स्थानीयवासी छेतेन पेमा गुरुङको १०४ वटा च्याङ्ग्रा मारेको दुई दिन पछि चितुवाले मार्फामा ३० भन्दा बढी याकको बाच्छा मारेको पशु सेवा कार्यालयका पशु चिकित्सक डा नन्दलाल बर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कागबेनीमा पनि १० भन्दा बढी घोडालाई आक्रमण गरी घाइते बनाएका छन । पशुचौपायालाई निरन्तर आक्रमण गरिरहेकाले त्यस क्षेत्रका स्थानीय जनता पनि त्रसित भएका छन् ।