काठमाण्डौ,२७ भदौ ।
शेर्पा प्रदेश बनाउन माग गर्दै सोलुखुम्बुसहित ६ जिल्ला बन्द आह्वान गरेका शेर्पा समुदायले फाप्लु विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानमा आक्रमण प्रयास गरेका छन ।
माथितिरको सडकबाट तारबार नगरिएको विमानस्थलमा अवतरण गरेको विमानलाई लक्षित गरी प्रदर्शनकारीले बोतल प्रहार गरेका थिए । सो बोतलले विमानमा लागेन र कुनै क्षति पनि भएन । बन्दकर्ताले विमानस्थलमा पेट्रोल बम प्रहार गरेको हल्लाले स्थानीय आतंकित भएका थिए । तर, प्रहरी निरीक्षक कुन्दन देवले पेट्रोल बम प्रहार नभएको स्पष्ट पार्नुभयो ।
यसैबीच प्रहरीले शान्तिसुरक्षामा खलल र्पुयाएको भन्दै शेर्पा प्रदेश संघर्ष समितिका सोलुखुम्बु संयोजक पेम्बा शेर्पा र सहसंयोजक ङीमा शेर्पालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सल्लेरीमा र्रयालीमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोलुखुम्बुसहित, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र संखुवासभाका भूभाग समेटेर शेर्पा प्रदेश बनाउन संघर्ष समितिले माग गरेको छ ।