काठमाण्डौ,२७ भदौ ।
तराई मधेशमा भइरहेको लगातारको आन्दोलनले काभ्रेपलाञ्चोकको बनेपामा ग्यासको कृत्रिम अभाव भएको छ ।
झन्डै २० दिनदेखि ग्यास सिलिन्डर नआएका कारण उपभोक्ताले रु एक हजार ८०० देखि रु दुई हजारसम्म मूल्य तिरेर ग्यास खरिद गर्न बाध्य भएको बताएका छन ।
बनेपा पुलबजारस्थित चण्डी ग्यासका वितरक नातिबाबु कुँवरले मागअनुसार ग्यास सिलिन्डरको आपूर्ति नभएका कारण समस्या भएको बताउनु भयो ।
उहाँले चण्डी ग्यासका उपभोक्ता जिल्लामा करिब पाँच हजार भएको उल्लेख गर्दै ग्यास दुई हजार ४०० मात्रै आएको बताउनुभयो । जिल्लामा चण्डी ग्यासबाहेक, सूर्य र सगरको ग्याससमेत उत्तिकै हाराहारीमा खपत हुने गरेको व्यवसायीले बताएका छन ।
घरेलु तथा साना उद्योग कार्यालय, धुलिखेलका प्रमुख क्रृषिराम केसीले अनुगमन गरिने र प्रमाणित भए कालाबजारी ऐनअनुसार कारबाही हुने बताउनुभयो ।
कृत्रिम अभाव हटाउन तत्काल कदम चालिने र कृत्रिम अभावको अवस्था सिर्जना नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।