काठमाडौँ, २५ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घले आन्दोलनरत पक्षलाई आफ्ना सबै बन्द हड्तालका कार्यक्रम फिर्ता लिई सकारात्मक परिणाम प्राप्तिका लागि गम्भीररुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।
वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति मुरारकाले वार्ता र संवादका लागि संविधानसभाको प्रक्रिया दुई दिन स्थगन गरिएको अवसर सदुपयोग गर्न आन्दोलनरत एवम् सरकार दुवै पक्षलाई आग्रह गर्नुभयो ।
आपसी सद्भाव, एकता र मेलमिलापलाई अक्षुण्ण राख्दै समयमा संविधान जारी गरी मुलुकलाई समृद्धिको पथमा लैजानु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सबै राजनीतिक दल, वर्ग समूह, पेसा व्यवसाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
निरन्तरको आन्दोलनले मर्माहत भएको उद्योग व्यवसायको सुरक्षाका लागि गृह प्रशासनले चासो नदिएको बताउँदै अध्यक्ष मुरारकाले भन्नुभयो, “सम्पूर्ण आर्थिक क्षेत्रले सहनुपरेकोे अकल्पनीय पीडाप्रति राज्य सम्बेदनशील हुन सकेन, आर्थिक गतिविधिमै अवरोध आउँदासमेत राज्य संयन्त्र प्रभावकारी नहुनु अत्यन्त दःुखद् हो ।”
उहाँले औद्योगिक र व्यावसायिक वातावरण बनाउने कार्यबाट अब सरकार यस क्षेत्र पूर्णरुपमा ध्वस्त हुने निजी क्षेत्रको ठहर रहेको बताउनुभयो । अध्यक्ष मुरारकाले शान्तिपूर्ण आन्दोलन नियन्त्रणबाट बाहिर जान थालेको आभास भएको र आन्दोलनकारी सम्बेदनहीन हुन थालेको आरोप लगाउनुभयो ।
करोडौँका कच्चा पदार्थ नोक्सानी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मजदुरलाई तलब उपलब्ध गराउन सक्ने अवस्था छैन, राज्यलाई कर उपलब्ध गराउने क्षमता छैन ।”
अध्यक्ष मुरारकाले एक दिनको बन्दबाट रु दुई अर्बको नोक्सानी हुने र पछिल्लो समयको बन्दका कारण हजारौँ कन्टेनर भारतको कलकत्ता बन्दरगाहमा रहेकाले दैनिक रु १० करोडको भाडा तथा ‘पार्किङ शुल्क’ तिर्नुपर्ने बाध्यता भएको बताउनुभयो ।
प्रजातन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने भएपनि जारी आन्दोलनले व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने, कुटपिट गर्ने, धम्क्याउने कार्य कुनै पनि हालमा क्षम्य नहुने भन्दै महासङ्घले आन्दोलनलाई संयमित र मर्यादित बनाउन आग्रह गरेको छ ।