ताप्लेजुङ, २५ भदौ ।
ताप्लेजुङ सदरमुकामका आगलागी पीडितले ६ महिना बितिसक्दासमेत बीमा गरेबापतको बीमा दाबी भुक्तानी पाएका छैनन् ।
आगलागीबाट पीडितमध्ये आठ व्यवसायीले घर तथा पसलको बीमा गराएका थिए ।
गत चैत ९ गते भएको आगलागीको घटना ६ महिना बितिसके पनि बीमा गराउने विभिन्न कम्पनीले कहिले कागजात पुगेन, कहिले प्रक्रिया अघि बढ्दै छ भनेर टार्ने गरेको पसलको बीमा गरेका पाथीभरा रेडियो घडी सेन्टरका प्रोप्राइटर महेन्द्र खतिवडाले गुनासो गर्नुभयो । अरू व्यवसायीको भनाइ पनि उस्तै रहेको छ ।
विपद्का बेला सहयोग मिल्छ भनेर विभिन्न बीमा कम्पनीसँग पसल व्यवसायको बीमा गरे पनि ६ महिना बित्दासमेत बीमा भुक्तानी नपाएको बीमा गरेका आगलागी पीडितको गुनासो छ ।
“यतिका समय बित्दासमेत न चित्त बुझ्दो जवाफ नै आउँछ, न त बीमा रकम नै टार्ने काम मात्र गर्छन्”–अर्का पीडित दिलकुमार मेन्याङ्बो भन्नुहुन्छ ।
आगलागीका कारण प्रभावित बनेको जनजीवन सामान्य बनाउने आफूहरुको प्रयासलाई बीमा कम्पनीले झन् धेरै सास्ती दिएको पीडित पक्षको गुनासो छ । यता ती बीमा कम्पनीले आवश्यक कागजात नपुगेका कारण ढिलाइ भएको भन्दै छिट्टै बीमा भुक्तानी हुने बताएका छन् ।
आगलागी क्षेत्रका आठजना पसल व्यवसायीले रु दुई करोड ५० लाखभन्दा बढीको बीमा गरेका छन् । उनीहरुले एनएलजी इन्सुरेन्स कम्पनी, सगरमाथा इन्सुरेन्स कम्पनी, नेको इन्सुरेन्स कम्पनी, सगरमाथा र नेपाल इन्सुरेन्स कम्पनीसँग बीमा गरेका हुन् ।
यस्तै उनीहरुले कम्तीमा आठ लाखदेखि बढीमा ५० लाखसम्मको बीमा गरेका छन् । गत चैत ९ गते सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा भएको आगलागीबाट दर्जनौँ घर जलेर नष्ट भएका थिए भने करोडाँैको क्षति भएको थियो । आगलागीबाट विस्थापितको अझै पुनः वास हुन सकेको छैन ।