सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’

सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

गोरखाबजार, २४ भदौ ।

सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् । पुनःनिर्माणका लागि सामग्री ढुवानी गर्न स्तरीय मोटरबाटोको आवश्यकता परेको बारपाकीको भनाइ छ । एकाउन्न किलोमिटर कच्ची सडकलाई थप स्तरोन्नति गरेर पक्की बनाउनुपर्ने उनीहरुको माग छ ।

“अवरुद्ध पहिरो पन्छाएर मात्रै पुग्दैन,” स्थानीयवासी खेमराज घलेले भन्नुभयो – “बर्खामा पनि अवरुद्ध नहुने गरी सडकलाई कालोपत्र गर्नुपर्छ ।” वर्षा भएपछि सडक अवरुद्ध हुने भएकाले पुनःनिर्माणको कामलाई गति दिन नसकिने घलेको भनाइ छ । साथै राङ्लुङ खोलामा पक्की पुल नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।

सडक स्तरोन्नतिको पहल गर्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाओवादी नेता डा बाबुराम भट्टराई, श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ, सभासद् कमला पन्त, हितराज पाण्डे, छमबहादुर गुरुङ, काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलगायतलाई आग्रह गरे पनि काम सुरु नभएको घलेको भनाइ छ ।

बारपाकको राङ्लुङदेखि मान्द्रे गाउँसम्मको मोटरबाटो जोखिमयुक्त छ । त्यसमाथिको सडक बर्खामा पनि खासै नबिग्रिएको स्थानीय पुरबहादुर घलेले जानकारी दिनुभयो । कच्ची सडक खनेको लामो समय बितिसक्दा पनि स्तरोन्नति नगर्दा बारपाकीहरुले दुःख, कष्ट झेल्नुपरेको उहाँको भनाइ छ ।

हिउँदमा बारपाकसम्म जिप पुग्छ । बर्खा लागेपछि स्थानीयवासी तीन घन्टा हिँडेर सिम्जुङको बालुवा पुगेपछि मोटर चढ्न पाउँछन् । ठूलो पानी प¥यो भने बालुवासम्म गाडी पुग्दैन । “भरिया पाइँदैन,” उहाँले भन्नुभयो – “उपभोग्य सामग्री ढुवानीमा समस्या भयो ।” भूकम्पले गोरेटो बाटोमा पनि पहिरोको जोखिम बढेपछि भरियाहरुले सामान बोक्न मान्दैनन् ।

बोकेर पु¥याएको सामग्री खरिद गर्दा उपभोक्ताले महँगीको सास्ती खेप्नुपरेको छ । “अवरुद्ध मोटरबाटो चाँडै खुलाउनुपर्छ,” दुई महिनादेखि सडक अवरुद्ध भएको बताउँदै घलेले भन्नुभयो – “हेलिकप्टरले बोकेको चामलले गाउँलेलाई अचार पनि पुग्दैन ।” हिउँद, बर्खा गाडी चल्न सक्ने मोटरबाटो बनाउन सरकारले बजेट पठाउनुपर्छ । बारपाक–लाप्राक–गुम्दा सडकखण्ड स्तरीय बनाएपछि मात्रै पुनःनिर्माणले गति लिने घलेको भनाइ छ ।

काठमाडौँबाट छुटेका गाडीमा ‘काठमाडौँ–बारपाक’ लेखिए पनि सिम्जुङको बालुवासम्म मात्रै गाडी पुग्छ । दरौँदी नदीमाथि हालै पुल निर्माण भए पनि सञ्चालनमा आएको छैन । बालुवादेखि बारपाक करिब २० किलोमिटर दूरीको बाटो हो । “सामान ढुवानी गर्न स्तरीय मोटरबाटो र पुनःनिर्माणका लागि दक्ष कामदार चाहिन्छ,” – स्थानीय विर्षराज घलेले भन्नुभयो – “बाटो, कामदार छैन । सामान ढुवानी गर्ने खच्चड पाउन पनि मुस्किल छ ।”

भूकम्पको केन्द्रबिन्दु भनेर चर्चा पाए पनि पीडितले खासै राहत नपाएकामा बारपाकीहरु खिन्न छन् । कच्ची संरचना छाडेर पक्की घर, भवन बनाउने गाउँलेको सोच भएकाले सामान ढुवानीको चिन्ता बढेको हो । स्थानीय मनोस घलेका अनुसार तत्कालै स्तरीय सडक सञ्चालनमा आएन भने पुनःनिर्माणको काम थप पाँच वर्ष पछि धकेलिन्छ ।

“देख्दा सानो तर अति आवश्यक सडक मार्गको स्तरोन्नति गर्नुप¥यो,” उहाँले भन्नुभयो – “सरकारले बाटो बनाओस्, हामी झुप्रो बनाउँला ।” भूकम्पपीडितहरु अर्काको जमिनमा टहरो निर्माण गरेर बसेका छन् । उनीहरु छिट्टै आफ्नै घरमा सर्न चाहन्छन् । तर, पुनःनिर्माणबारे निश्चित मापदण्ड आउन ढिलाइ हुँदा उनीहरु समस्यामा छन् ।

जिल्लास्थित सडक कार्यालयले पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी