काठमाडौँ, २३ भदौँ ।
सरकारले अन्तर्राष्ट्रिय व्यापार क्षमता अभिवृद्धिमार्फत आर्थिक विकास एवम् गरिबी निवारणमा योगदान पुर्याउने उद्देश्यका साथ ‘व्यापार र निजी क्षेत्र विकास’ नामक नयाँ परियोजना कार्यान्वयनमा ल्याएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन सङ्घले संयुक्त रुपमा बुधवार काठमाण्डौमा आयोजीत कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले परियोजनाको कार्यान्वयनपछि व्यापार प्रवद्र्धन, व्यापार नीति विकास, स्तरीय पूर्वाधार तथा मूल्य श्रेणी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राज्यमन्त्री गिरीबहादुर केसीले निर्यातको सम्भावना भएका वस्तुको उत्पादन गर्दा समय तथा गुणस्तरीयतामा विशेष जोड दिनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्ययले निर्यात प्रवद्र्धनका लागि आवश्यक पर्ने गुणस्तरीय विकासमा जोड दिइने उल्लेख गर्नुभयो ।
नेपालका लागि युरोपियन सङ्घकी राजदूत रिन्चे टिरिङले अन्तर्राष्ट्रिय बजारमा नेपालीे अर्गानिक कफीको ठूलो माग रहेकाले तुलनात्मक लाभका दृष्टिकोणले उपयुक्त कफीको उत्पादन तथा प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
परियोजनाको कार्यान्वयनपछि मन्त्रालयको नीति तथा कार्यक्रमार्फत नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुने, नीति तथा कार्यक्रमको कार्यान्वयन तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा बल पुग्ने र निर्यात नियमनका लागि आवश्यक पूर्वाधार कार्यान्वनमा सहयोग पुग्नेछ ।
त्यसैगरी उत्पादन क्षमतामा सहयोग पुग्ने र गुणस्तरीय कफी उत्पादन तथा निर्यातमा सहयोग पुग्ने विश्वास लिइएको छ । अप्रिल २०१५ बाट सुरु भएर सन् २०१८ मा सम्पन्न हुने उक्त परियोजना कार्यान्वयन मन्त्रालय र युरोपियन सङ्घले संयुक्त रुपमा गर्ने उल्लेख गरिएको छ ।