काठमाडौ २३ भदौ ।
संविधानसभाको बैठक आज पनि बस्दैछ । बिहान साँढे १० बजेपछि नयाँबानेश्वर स्थित संविधानसभा भवनमा बस्ने बैठकमा आज पनि संविधानको विधेयकमाथि दफाबार छलफल हुनेछ ।
आजको बैठकमा प्रस्ताव पेश गर्न बाँकी संशोधनकर्ताले आफ्ना संशोधन प्रस्ताव पेश गर्दै विधेयक माथि धारणा राख्ने कार्यसुची रहेको संविधानसभा सचिवालयले जनाएको छ ।
यसअघि हिजो बसेको बैठकमा विधेयकमाथि सात वटा संशोधन प्रस्ताव पेश भएका थिए । दफाबार छलफलमा भाग लिनका लागि २ सय ७९ सभासदले नाम टिपाएका छन् ।
संशोधन प्रस्ताव पेश भएपछि सभासदले बोल्नेक्रम सुरु हुने सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
स्वीकृत भएका संशोधनका बुँदालाई समावेश गरेर सभासदले संविधानका प्रत्येक धारा पारित गर्नेछन् । यस्तै पारित भएका धारा समावेश गरी संविधानको एकिकृत विधेयक तयार हुन्छ । अन्तिम विधेयकलाई संविधान सभाका दुई तिहाई सभासदले पारित गरेपछि संविधान तयार हुन्छ ।