काठमाडौं २३ भदौ । मुलुक संघीय शासन प्रणालीमा गएपछि संक्रमणकालीन सुरुको अवस्थाको व्यवस्थापन केन्द्रीय सरकारकै कर्मचारीले गर्ने भएका छन् ।
हाल निजामती सेवामा रहेका ८० हजार कर्मचारी मध्ये ५० हजार कर्मचारी प्रदेशमा खटाउने गरी सरकारले गृहकार्य थालिएको छ ।
हाल रहेका निजामती कर्मचारीलाई कुनै सुविधा र स्तरसमेत वृद्धि नगरी संघीय राज्यमा पठाउने तयारी भएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताउनु भयो ।
निजामती कर्मचारी भोलिको केन्द्रीय सरकारले खटाएको ठाउँमा गएर निस्वार्थ रूपमा काम गर्न तयार हुनुपर्ने मन्त्री पण्डितको भनाई छ ।
हाल रहेका ८० हजार कर्मचारीमध्ये केन्द्रमा २५ देखि ३० हजार कर्मचारी मात्रै रहने छन् भने बाँकी ५० हजार कर्मचारीलाई विभिन्न प्रदेश तथा स्थानीय निकायमा खटाउने गरि तयारी अघि बढेको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रादेशिक प्रशासनमा जान नचाहने कर्मचारीले निजामती सेवा नै छोड्नुपर्ने गरी कानुन बनाउन लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।