भाद्र २२, डोटी ।
डोटीको बन्लेक गाविसमा मात्रै विभिन्न वडाका ७ जना मानिस लामो समयदेखि वेपत्ता रहेको रहस्य बाहिर आएको छ ।
कमजोर घरायसी आर्थिक अवस्थाको कारण भारतमा काम गर्न गएका ती सात जना लामो समयदेखि हराईरहेको बन्लेकका स्थानीय बासिन्दाले बताएका छन् । फरक–फरक मितिमा भारत गएका ति मानिसहरु फरकै मितिदेखि हराईरहेको बताईएको छ ।
एडब्लुओ ईन्टरनेशनलको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालले मानव बेचविखन तथा ओसार पसार विरुद्धको दिवसलाई साता व्यापी रुपमा मनाउने क्रममा बन्लेकमा मंगलबार आयोजित कार्यक्रममा यस्तो जानकारी पाईएको हो ।
कार्यक्रममा जानकारी दिईए अनुसार बन्लेक गाविस वडा नं. २ का करबिरे दमाई, वडा नं. ४ का गोरे डौंडे, वडा नं. ३ का तारा रावत, वडा नं. २ का पस्से लामा, वडा नं. ३ का भोजराज जोशी, वडा नं. ४ का भोज कोली र वडा नं. २ का गिरी बलायर रहेको स्थानीयले जानकारी दिएका छन् ।
उनिहरुका बारेमा आ–आफ्ना घर परिवारका सदस्यहरुले केहि समय आलाप विलाप गरेता पनि कसैले खाजबिन नगरेको स्थानीय समाजसेवी लाल सिं बलायरले बताए । ती हराएका मानिसहरु भारत काम गर्न गएका बेला उतैबाट लामो समयदेखि सम्पर्क विहिन भएको नेकपा एमाले बन्लेकका स्थानीय नेता रघुनाथ जोशीले बताए ।
उनिहरु लामो समयदेखि हराईरहेको भए पनि प्रहरीमा कुनै निवेदन तथा उजुरी नपरेकाले खोजबिन हुन नसकेको ईलाका प्रहरी चौकी तिल्तालीका ईन्चार्ज प्रहरी नायव निरिक्षक कुबेर सिंह धामीले बताए । निड्स नेपाल कञ्चनपुरले जुन २०१५ देखि डोटीका ४ वटा गाविसहरुमा महिनाका लागि सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तरगत बन्लेकमा दिवस मनाईको हो ।
असुरक्षित बसाई सराईं र मानव बेचविखन नेपालमै ठूलो समस्याका रुपमा रहेकाले अहिले नेपालको सिन्धुपाल्चोक, चितवन, कञ्चनपुर र डोटीमा सचेतनामूलक कामको थालनी गरिएको सो परियोजना संयोजक प्रकाशचन्द्र मडैले जानकारी दिए ।
बन्लेक गाविस सचिव लक्ष्मीकान्त रोस्याराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुनरावेदन बार एसोशियसन दिपायलका सचिव एवं अधिवक्ता शंकरदीप मडैले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ तथा नियमावलीमा भएका प्रावधानका बारेमा सहभागिहरुलाई दफावार छलफल तथा जानकारी गराएका थिए ।
सुरक्षित आप्रवासन तथा मानव बेचविखन रोकथाम परियोजना हाल डोटीको बन्लेक, लाटामाण्डौ, भूमिराजमाण्डौ र कपल्लेकीमा लागु भईरहेको छ ।