काठमाडौ २२ भदौ ।
संबिधान सभामा आजबाट दफावार छलफल शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक आबश्यक तयारी नपुगेको भन्दै २ बजेका लागि सारिएको भएपनि साढे ३ बजे शुरु भएको थियो ।
आजको बैठकमा सभासदहरुले राखेका संसोधन प्रस्ताब माथी दफाबार छलफल हुने कार्यसुची छ । बैठकमा संविधानको विधेयकमाथि परेका ५६ वटा संशोधन क्रमैसँग प्रस्तुत भएपछि संशोधन र विधेयकका दफामा एकमुष्ट छलफल सुरु हुनेछ ।
संविधानसभामा दर्ता गराएका संशोधन प्रस्ताव मध्ये हिजोसम्ममा केही सभासदले प्रस्ताव फिर्ता लिएको संविधानसभा सचिवालयले जनाएको छ । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संसोधन प्रस्ताव माथीको दफावार छलफल गरियोस भन्ने प्रस्ताव राख्नु भएपछि छलफल सुरु हुनेछ ।
सभाध्यक्ष सुवास नेम्वाङले एमाओवादी सहितका प्रमुख दलहरुलाई शासकीय स्वरुप लगायका फरक मतलाई आफ्नो राजनितिक अडानका रुपमा संविधानसभामा अन्तिम पटक रेकर्ड गराउन विशेष समय दिने तयारी गर्नुभएको छ ।
यसैविच सहमतिका आधारमा संविधान बनाउनु पर्ने माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभाको बैठक बहिस्कार गरेको छ ।
संविधानसभाको आजको बैठकको सुरुमा नै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले विशेष समय लिएर आफ्ना धारणा राख्दै मधेसमा दुई प्रदेशसहित १० प्रदेश होस् र सहमतिका आधारमा संविधान होस् भन्ने आफूहरुले चाहेको बताउँदै बैठक बहिस्कार गर्नुभयो ।
उहाँले बहुमतका आधारमा संविधान बनाउने प्रयास भइरहेको भन्दै यसले मुलुकमा द्वन्द्व ल्याउने बताउनुभयो ।