काठमाण्डौ, २२ भदौ ।
संविधानको विधेयकमाथि संविधानसभामा दफाबार छलफल सुरु भएको छ । छलफलको सुरुमा संशोधनकर्तालाई प्रस्ताव पेस गर्न दिइएको छ ।
एघार बजेबाट दुई बजे सारिएको बैठक साढे तीन बजे सुरु भएको थियो । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि छलफल सुरु भएको थियो । विधेयकमाथि ५६ वटा संशोधन परेका छन् ।
संशोधनकर्ताले बोलेपछि सबै दलका संसदीय नेतालाई बोल्न दिने र त्यसपछि अन्य सभासद्लाई छलफलमा भाग लिने गरी कार्यतालिका तयार पारिएको छ । चार दिनभित्र दफाबार छलफल सकेर विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइने कार्यसूची सचिवालयको छ ।
संसद् सचिवालयले संविधानको विधेयक पारित गर्ने प्रक्रिया पनि तयार पारिसकेको छ। सुरुमा सबै संशोधनलाई निर्णयार्थ पेस गर्ने र त्यसपछि संविधानका अन्य धारालाई निर्णयमा लगिनेछ ।