काठमाडौं, २२ भदौ ।
कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग गर्दै बिद्यार्थी संगठनहरुले आज यातायात ठप्प पारेका छन् ।
आफ्ना माग सुनुवाई नभएको भन्दै आज पुर्व–पश्चिम राजमार्ग अन्र्तगत महेन्द्रनगर चम्मन चौराहामा बिहान ९ बजेदेखि दिउंसो १ बजेसम्मको लागि चक्काचाम गरेका हुन् ।
६ विद्यार्थी संगठनहरुले गरेको चक्का जामका कारण बन्दमा एस्कर्टिङ गरी संचालन भईरहेका सवारी साधन प्रभावित बनेका छन् ।
बिद्यार्थीहरुले हिजोदेखि नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रमा अनिश्चितकालिन तालाबन्दी समेत गरिएको विप्लव माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र शाहले मिर्मिरेलाई बताउनुभयो ।
विगतमा विद्यार्थीसंग भएका सहमति विपरित कञ्चनपुरमा अनियमित लोडसेडिङ भईरहेको भन्दै लोडसेडिङ मुक्त हुनुपर्ने माग विद्यार्थीहरुको छ ।
आफ्ना माग पुरा नभए भोलीदेखि यातायात, बजार, व्यवसाय तथा शैक्षिक संस्था समेत ठप्प पार्ने अध्यक्ष शाहले चेतावनी दिनुभएको छ ।