काठमाडौं, २२ भदौ ।
लामो समयदेखि जारी आन्दोलनले स्थानीयको जनजीवनमा गम्भीर असर पारेको भन्दै समिति थरुहट संघर्ष समितिले पाँच दिनको लागि बर्दियामा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
समितिको आन्दोलनका कारण गत साउन २६ गतेदेखि लगातार बन्द रहेको बर्दिया आजबाट खुलेको छ ।
बन्द फिर्ता भएसंगै जनजीवन सामान्यतर्फ फर्किएको छ भने यातायात, शैक्षिकसंस्था र बजार सञ्चालनमा आएका छन् । तर बाँकेलगायतका अन्य जिल्लामा आन्दोलन जारी रहेकाले लामो दूरीका यातायातका साधनलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्यसम्म पठाइरहेको छ ।
समितिले जनभावनाको कदर गर्दै भदौ २६ गतेबाट आन्दोलनको स्वरुप केही परिवर्तन गर्ने समेत जनाएको छ ।
बन्दकर्ता आन्दोलन फिर्ता लिए पनि स्थानीय प्रशासनले भने सदरमुकाम गुलरिया र राजापुर नगरपालिकाका केही क्षेत्रमा लगाएको निषेधाज्ञो कायमै राखेको छ ।
यस्तै कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
कर्फ्यु हटाइएको समयमा बजारमा स्थानीयको चहलपहल बढ्न चालेकोे छ । स्थानीय प्रशासनले आज धनगढीमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु जारी गरेको छ भने टीकापुरमा विहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुला गरेको छ ।
धनगढीमा कर्फ्युमा खुकुलो भएसँगै शैक्षिक संस्था, बजार र यातायात सञ्चालनमा आएका छन् । टीकापुर बाहेकका अन्य केही गाविसमा भने कर्फ्यु जारी छ । तर त्यसले स्थानीयको जनजीवनमा कुनै प्रभाव नपरेको बताइएको छ
यस्तै पर्साको वीरगन्जमा ५ घन्टा सम्मको लागि कर्फ्यु हटाइएको छ । वीरगन्जको अवस्था शान्त बन्दै गएकाले जनजीवन केहि सजिलो बनाउन बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु हटाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
दिउँसो १ बजेपछि भने अनिश्चितकालिन कर्फ्यु लाग्ने छ । कर्फ्यु हटेपछि वीरगन्जमा अहिले चहलपहल बढेको छ ।
मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प छन् ।