सुनसरी भदौ २१ ।
सात बर्षअघि २०६५ साल भदौमा कोशीले पुर्वी तटबन्ध भत्काएर पुर्व पश्चिम राजमार्ग समेत बगाएपछि महिनौंसम्म पुर्वी नेपालको पश्चिम र राजधानीसँगको सडक सम्पर्क विच्छेद भयो ।
उद्योगी, व्यापारी र सर्वसाधारण नागरिकले त्यतिबेला ठुलो कष्ट खेप्नुपर्यो । पुर्वेलीहरु राजधानी पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य भए ।
कोशी ब्यारेजमा रहेको पुलको आयु पनि सकिन लागेको बेला भएको त्यो घटनाले कोशीमा नयाँ पुलको आवश्यकता खट्कायो, र चतरामा कोशी पुल निर्माणको अवधारणा बन्यो ।
भखरै प्रधानमन्त्री सुशील कोइरालाले उदयपुरको मैनामनी र सुनसरीको बराहक्षेत्र(चतरा) जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेर सात बर्षअघिको अवधारणालाई मुर्तरुप दिए ।
नवनिर्मित कोशी पुल चर्चामा आएजस्तो कोशी ब्यारेजको विकल्प मात्रै भने होइन । यसले उदयपुर र सुनसरी जिल्लाका बासिन्दा सिधा जोड्ने काम गर्यो भने वैकल्पिक राजमार्गको सडक सञ्जाल पनि यही पुल हुदै तयार भएको छ ।
पुर्वी पहाडी जिल्लाका वासिन्दा अबको केही बर्षमा तराई नझरी यही पुलमार्फत सिधै राजधानी पुग्नेछन् ।
पुल बनेसंगै वैकल्कि राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्न ध्यान केन्द्रीत हुने सर्बसाधारण जनताको भनाईछ । यसकारण पनि सुनसरी र उदयपुरबासीलाई मात्रै नभई समग्रमा पुर्वेलीहरुमा हर्ष छाएको छ ।
अहिले कोशी ब्यारेजको पुलको विकल्पमा सुनसरी र उदयपुरतर्फ ६२ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य जारी छ ।
यो सुनसरीको पकलीदेखि शुरु भएको सडक नडाहादेखि नवनिर्मित कोशी पुलसम्म ११ किलोमिटर कालोपत्रे हुदैछ भने पुल पारी उदयपुरतर्फ थप ५१ किलोमिटर सडक पनि पक्की बनाउने काम जारी छ ।
एसियाली विकास बैंक(एडिबि)को ६० र सरकारको ४० प्रतिशत लगानी रहेको यो सडक २०६ करोडको बजेटमा सडक सन् २०१७ को डिसेम्बरसम्म तयार हुनेछ । त्यो समग्र क्षेत्रमा १८ वटा पुल निर्माण हुनेछ ।
जस्को एउटै उदेश्य कोशी ब्यारेजमा कुनै समस्या आउदा पकलीबाट चतरा हुदै कोशीपुलमार्फत मैनामनी, रामपुर,बसाहा, फत्तेपुर हुदै सप्तरीको फत्तेपुर कञ्चनपुर महेन्द्र राजमार्ग निस्केर सहजै यातायात चल्नेछ ।
ब्यारेजको विकल्पबाहेक धरान, चतरा, गाईघाट, कटारीबाट सिन्धुली हुदै हेटौडा जोड्ने ३ सय किलोमिटरको वैकल्पिक राजमार्गको काम पनि भइरहेको छ ।
यो योजना आर्थिक बर्ष ०६४ र ०६५ बाट नै शुरु भएको थियो । तर, काम धिमा गतिमा भईरहेको र धेरै कम चौडा भएको स्थानमा फराकिलो पार्ने काम भइरहेको वैकल्पिक राजमार्ग योजनाका प्रमुख जीतेन्द्र शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले धेरै काम सिन्धुलीमा भइरेको छ । वैकल्पिक राजमार्ग नाम दिइए पनि सहायक राजमार्गको मापदण्डमा यो सडक बन्नेछ । ‘यो सडक ७ मिटर पिचसहित १० मिटर चौडाईको हुनेछ, सरकारको योजना भएकोले कहिलेसम्म तयार हुन्छ भनेर बजेटमा नै भर पर्छ’–शाक्यले भन्नुभयो ।
अर्को सडक चतराबाट सुनकोशीको तीरैतिर हुदै घुर्मीमा मध्यपहाडी लोकमार्गमा जोडिनेछ, र त्यहााबाट खुर्कोटमा बीपी राजमार्गमा ठोक्किनेछ ।
यो सडक सञ्जालले पुर्वी पहाडका जनताको राजधानीसागको सम्पर्क नजिक्याउनेछ । सडक विभागका सिनियर डिभिजन इञ्जिनियर एवं नडाहा– कोशी पुल–कञ्चनपुर सडकको प्रोजेक्ट मेनेजर कैलाशकुमार श्रेष्ठका अनुसार यो सडकको सम्भाव्यता अध्ययन र डिटेल डिजाइन भइसकेको छ ।
श्रेष्ठका अनुसार कोशी पुल ब्यारेजको एउटा विकल्प हो, तर पुर्वी नेपाललाई राजधानीसाग छिटो जोड्ने सडक सञ्जालको मेरुदण्ड पनि हुनेछ ।
उता धनकुटाको लेगुवाघाटबाट अरुणको तिर हुदै चतरा जोड्ने बाटो पनि विचाराधिन अवस्थामा छ ।
पुर्वी पहाडका जनतालाई तराईतिर नझरी राजधानी पुर्याउने सडक सञ्जाल यही पुलमा जोडिनेछ भने यसले दैनिक जीवनसागै आर्थिक, सामाजिकरुपमा पनि सकरात्मक प्रभाव पर्ने पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशानलयका प्रमुख शिवहरी सापकोटाका भनाई छ ।
धरान चतरा बराहक्षेत्र सडकखण्ड अबको २ बर्ष्भित्रै पक्की भइसक्ने र इलामको रााके हुदै आउने ९५ किलोमिमर सडक धनकुटाको भेडेटारमा जोडिने सापकोटाले बताउनुभयो ।
नवनिर्मित कोशी पुल र यसमा जोडिने सडक सञ्जालले यो क्षेत्रको समाजिक, शिक्षा, स्वास्थ्यसँगै आर्थिक विकास हुने आशा पलाएको सुनसरी उद्योग वाणिज्य संघ बराहक्षेत्र शाखाका अध्यक्ष रमेश विष्टले बताउनुभयो ।
धेरै सडक सञ्जाल जोडिदैछ, यसले बराहक्षेत्र मन्दिर र पर्यटकीय क्षेत्रको विकास हुनेछ । आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्यमा पनि प्रगति हुने आशा स्थानीयले गर्दै आएका छन ।
कुनै समय पहाडी जिल्लाको व्यापारिक केन्द्र रहेको चतरा अब पुन: बिकसित हुने बिष्टको भनाई छ ।