भाद्र २०, सिलगढी
डोटीको दिपायल सिलगढी नगरपालीकामा आन्तरिक लेखा परिक्षक स्थायी पदपूर्तिका लागि लिखित परिक्षा लिईएको बाह्र वर्ष बित्नै लाग्दा समेत नतिजा सार्वजनिक नभएको पाईएको छ ।
वि.सं. २०६० साल माघ १२ गते नगरपालीकाले प्रकाशित गरेको विज्ञापन नं. १÷०६०÷०६१ रहेको आन्तरिक लेखा परिक्षक प्रशासन सेवा लेखा समूह राज पत्र अनंकित प्रथम श्रेणीका लागि लिईएको लिखित परिक्षाको नतिजा आजसम्म पनि प्रकाशित हुन नसकेको हो ।
उक्त परिक्षामा आफु पनि सहभागि भएको र हालसम्म पनि नतिजा सार्वजनिक नभएकाले आफु चिन्तित रहेको दिपायल सिलगढी नगरपालीका वडा नं. २ सिलगढी डोटीका कृष्ण शुन्दर श्रेष्ठले बताए । उनले भने–“पटक–पटक नगरपालीकामा मौखिकजानकारी र लिखित रुपमा सूचना माग गरियो, तर अहिलेसम्म सन्तोषजनक जानकारी नै पाउन सकिएको छैन ।”
सो परिक्षामा ७÷८ जना जति परिक्षार्थी सहभागि रहेको नगरपालीका श्रोतले बताए पनि कृष्ण शुन्दर श्रेष्ठको प्रवेश पत्रमा रोल नं. ९ उल्लेख रहेको छ । जस आधारमा पनि ९ जना परिक्षार्थिले सो पदमा आवेदन गरेको स्पष्ट देखिन्छ । मिति २०६० फाल्गुन ११ गतेको पदपूर्ति समितिको बैठक अनुसार लोक सेवा आयोगकै प्रक्रियामा उक्त पदका लागि परिक्षा भई नगरपालीकामा सुरक्षित रहेको भए पनि नतिजा प्रकाशित नहुनुको कारणबारे थाहा नभएको नगरपालीकाका वर्तमान कार्यकारी अधिकृत राज बहादुर शाहीले बताए ।
यस विषयमा वर्तमानमा रहेको पदपूर्ति समिति र लोक सेवा आयोगसँग परामर्श गरि प्रक्रिया अगाडी बढाईने पनि कार्यकारी अधिकृत शाहीले बताएका छन् । नगरपालीका श्रोतले दिएको जानकारी अनुसार उक्त स्थायी पदका लागि लिखित परिक्षा भईसकेपछि स्थगित हुनुको कारण लिखित रुपमा कहिं÷कतै निर्णय नभएको बताईएको छ ।आफुले पटक–पटक नगर–पालीकामा जानकारी गराउँदा जवाफमा केन्द्रकै कारणले स्थगित भएको भन्ने जानकारी आउने गरेको परिक्षार्थी कृष्ण शुन्दरले बताए ।
उनले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नगरपालीकामा मिति २०७२ अषाढ २९ मा पेश गरेको लिखित निवेदन पेश गर्दा नगरपालीकाले मिति २०७२ अषाढ ३१ गते फर्काएको जवाफमा यस समयावधिमा सरुवा भएर आउने तथा जाने कार्यकारी प्रमूखहरुले नतिजा प्रकाशन नगरेको भन्ने लिखित तथा प्रमाणित जवाफ दिएको छ ।
जवाफ चित्त बुझ्दो नभएको भन्दै श्रेष्ठले फेरि मिति २०७२ श्रावण ९गते दोश्रो पटक नगरपालीकासँग लिखित जवाफ माग गरेका थिए । नगरपालीकाले नतिजा प्रकाशन नगर्नको कारण लिखित निर्णय कहिँ नभएको पाईएकाले पदपुर्ति समितिमार्फत आगामी नगरपरिषदमा पुनः पेश गरी निर्णय बमोजिम कार्य अगाडी बढ्ने औपचारिक जवाफ दिएको छ ।
नगरपालीकाले सरकारी स्केल सुविधा प्रदान गर्ने र अन्य सुविधा नगरपालीकाको निर्णय अनुसार पाउने गरि वाणिज्य तथा अर्थशास्त्र विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण नेपाली नागरिकबाट स्विकृत दरबन्दीमा आवेदन माग सहित एक महिने र दोब्बर दस्तुरले थप सात दिनको म्याद सहितको सार्वजनिक सूचना पत्रिकामा समेत प्रकाशन गरेको थियो । त्यसभन्दा पछाडी पनि नगरपालीकाले स्विकृत दरबन्दी र बिना स्विकृति समेत कर्मचारी भर्ना गर्नु तर स्थायी प्रक्रिया अघि बढि सकेको विषय स्वभाविक रुपले न्यायोचित भने होईन ।