काठमाडौ २० भदौ ।
चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितको माग राख्दै छैटौ पटक अनसन बस्नु भएका डा. गोबिन्द केसीले आज अनशन तोड्नु भएको छ।
माग सम्बोधनका विषयमा सरकार र डा. केसीका प्रतिनिधिबीच ११ बुँदे सहमति भएपछि डा. केसीले आज अपरान्नबाट अनशन तोड्नु भएको छ । नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीको उपस्थितमा स्थानीय १८ महिने बालिका सुवानी उप्रेती र डोल्पाका एक बिरामी फूर्वा शेर्पाका हातबाट जुस पिएर डा. केसीले अनसन तोडुनु भएको हो ।
मुख्य सचिव सोमलाल सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेल लगायत सरकारी पक्ष र डा. केसी पक्षबीच माथेमा प्रतिवेदनको सुझाव अनुसार मन्त्रिपरिषदको पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमति भएको छ ।
चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयको सहजीकरण र अनुगमन पनि उक्त आयोगले गर्नेछ । चिकित्सा शिक्षा सम्बन्धी नीति तयार पारी मस्यौदा बनाएर तीन महिना भित्र संसदमा पेश गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । द्धिपक्षीय सहमतिपछि आन्दोलनरत चिकित्सा क्षेत्रका विद्यार्थी तथा चिकित्सकहरु पनि आजबाट काममा फर्किएका छन ।
डा. केसी चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयन लगायतमा माग राखेर आमरण अनशन बस्नु भएको थियो ।