काठमाडौ २० भदौ ।
प्रमुख तीन दलले प्रदेश सिमांकनमा बाग्लुङ जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर चारमा राख्ने सहमति गरेपछि दुई हप्तादेखि जारी जिल्ला बन्द फिर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले बाग्लुङ जिल्लालाई विभाजन नगरी प्रदेश नम्बर चारमा राख्ने गरी संविधानको परिमार्जित विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेसँगै गत भदौ ५ गते देखि बाग्लुङमा जारी बन्द फिर्ता भएको हो ।
यसअघि दलहरुले बनाएको सात प्रदेशको खाकामा बाग्लुङलाई टुक्राएर चार र पाँच नम्बर प्रदेशमा राख्ने निर्णयको विरोध गर्दै बाग्लुङ बन्द अह्वान गरेको थियो ।
बन्द फिर्ता लिए पनि संविधानसभामा दर्ता भएको जिल्ला अखण्ड राख्ने संशोधन प्रस्ताव दुई तिहाईले पारित नहुञ्जेलसम्म अन्य रचनात्मक दबाबका कार्यक्रम भने जारी राखिने संघर्ष समितिले जनाएको छ ।
बन्द फिर्ता भएसँगै जनजीवन सामन्य बनेको छ । बिहानैबाट शिक्षण संस्था तथा यातायातका साधन सन्चालनमा आएका छन् भने बजार, उद्योग कलकारखाना सबै खुलेका छन् ।