काठमाण्डौ,१८ भदौ ।
एनेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संविधानसभाबाट संविधान जारी नगर्न विभिन्न चलखेल भएको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले बिभिन्न चलखेल भएता पनि संविधान सभाबाट भदौसम्म संविधान जारी गर्ने र यसो नभए संविधानसभाले कहिल्यै संविधान जारी गर्न नसक्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो सिमांकन र नामांकनका बारे जसरी विभिन्न आन्दोलन भएका छन् त्यसमध्ये थारुहरुका जायज मागलाई सम्बोधन गर्नु पर्दछ । कर्णालीको माग सम्बोधन पश्चात कैलालीका थारुहरुको मागलाई सम्बोधन गर्न नसक्दा थारुसमुदायले आफूहरु हेपिएको भान गर्नु स्वभाबिक भएता पनि मधेशमा भएको आन्दोनको भने कुनै औचित्य नभएको उहाँले बताउनु भयो ।
कैलाली घटनामा माओबादीका पूर्व लडाकुहरुको घुसपैठ भएको भन्ने भनाईहरु निराधार भएको भन्दै माओबादी पार्टीलाई आरोप मात्र लगाउने काम भएको उहाँले बताउनु भयो । तराईमा भएको आन्दोलनको कुनै एजेन्डा नभएकाले एजेन्डा लिएर आन्दोलन गर्नु पर्ने भन्दै अनाहाकमा पाँच नेपालीले ज्यान गुमाउनु परेको उहाँले बताउनु भयो ।
एमाओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस नेता शेरबहादुर देउवा भारत पुगेर आएपछि सिमांकन र नामांकनका विषयले उग्ररुप लिएको भन्ने भनाईहरु गलत भएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो सिंमाकन गर्दा विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले आफ्नो निर्वाचन क्षेत्रलाई ध्यान दिँदै अखण्ड र विभिन्न खालका स्वार्थका कारण विवाद देखा परेको हो ।
मस्यौदा संकलनका बेला नेपाली नागरिकले दिएको दुई सुझाव मध्ये कार्यकारी राष्ट्रपति र सिंमाकनको विषयलाई पहिल्यै टुगांएर जाने बिषयमा काँग्रेस र एमालेले नमानेको भन्दै आफूहरुले नोटअफ डिसेन्ट लेख्दै संविधान जारीको बाटोमा अग्रसर बनेकाले माओबादीलाई संविधान जारीको अवरोधकारी ठान्नु गलत भएको उहाँको टिप्पणी थियो ।
उहाँले नेपाली नागरिकता लिने सबै नेपाली भएको र गलत प्रक्रियाबाट नागरिकता लिएको भए त्यसलाई कारवाहिको दायरामा ल्याउने काम सरकारको भएकाले तत्काल फर्जी नागरिकता लिनेहरुको पहिचान गरेर कारवाहि गर्नु पर्नेमा जोड दिनु भयो ।
पछिल्लो समय नेपालका गृहमन्त्रीले आन्दोलनका समयमा भएको घुसपैठ बारे जसरी अभिब्यक्ति दिएका छन् आफ्नो मर्यादालाई भूल्दै आएको अभिब्यक्तिले सरकार कति कम्जोर छ भन्ने प्रष्ट पारेको बताउनु भयो । उहाँले भन्नु भयो यदि घुसपैठ भएको छ भने कारवाहि गर्नु पर्यो र शर्तकता अपनाउनु पर्यो तर जे पायो त्यो अभिब्यक्ति दिँदै हिँड्नु उचित नभएको उहाँको भनाई छ ।
संक्रमणकालिन अवस्था भएकाले नेपालका राजनीतिक दलहरुले सजकता र सर्र्तकता अपनाउन नसक्दा बैदेशिक हस्तक्षेप बढेको भन्दै उहाँले भन्नु भयो छिमेकीले आफ्नो अनुकुल काम गर्नु स्वभाबिक भएको र नेपालको कम्जोरी देखिएको हो ।