काठमाण्डौ,१८ भदौ ।
नेपाली कांग्रेसका सभासद् डा. शेखर कोइरालाले पाटीको निर्णय बिपरीत संविधान विधेयकमा संसोधन दर्ता गराउनुभएको छ ।
व्यक्तिगत रुपमा संसोधन नराख्न पाटीले निर्देशन दिएपनि कोइरालाले आज संविधानसभा सचिवालयमा पुगेर संविधानबाट धर्म निरपेक्षता र ‘समाजवादोन्मूख’ शब्द हटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।
धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न समेत प्रस्ताव गर्दै उहाले १२ वटा बुँदामा संशोधन प्रस्ताव पेश गर्नुभएको हो । कोइरालाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन , त्यसो हुन नसके उपराष्ट्रपतिको व्यवस्था हटाउन माग गर्नुभएको छ । संसदीय सुनुवाईको प्रावधान हटाउन समेत उहाँले प्रस्ताव गर्नुभएको छ ।
पार्टीको हितका लागि आफूले संसोधन राखेकाले कारवाहीको प्रश्न नै नउठ्ने कोइरालाको भनाइ छ । संसोधन प्रस्ताव गरेको बिषयमा आफूले प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई जानकारी गराएको उहाँले बताउनुभयो।
डा. कोइरालाले संविधानसभा सचिवालयमा दर्ता गरेको १२ बुँदे संशोधनमा सेना परिचालनको अधिकार सुरक्षा परिषदलाई नभई राष्ट्रपतिलाई दिइनुपर्ने माग गरिएको छ ।