अछाम, १८ भदौ ।
वर्षौदेखी जंगलमा बसोवास गर्दै आईरहेका राउटे समुदायहरु दशैंखर्च जुटाँउनका लागि अछाम सदरमुकाम मंगलसैनमा पुगेका छन । राउटे मुखीया जय बहादुर शाहीको नेतृत्वमा रहेको ४ जना राउटेहरुको टोली अछाम सदरमुकाम मंगलसेनमा दशैं मनाँउन आर्थिक संकलनका लागि आएका हुन ।
आफुहरुको २ सय ४० जनाको परिवार अहिले पूर्वी अछामको कर्णाली नदि किनार राखममा बसिरहेको बताँउने राउटे मुखीया जयबहादुरले ठुलो संख्यामा रहेका राउटेलाई दशैं मनाँउन समस्या हुने भएकाले ठुलाबडाहरु पैसा संकलनमा आएको बताएका छन ।
आफुहरुले जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिती, मंगलसेन नगरपालिका, जिल्ला वन कार्यालय लगायतका सरकारी कार्यालय तथा अन्य संघ संस्थामा पनि आर्थिक सहयोग मागेको राउटे अगुवा जय बहादुर शाहीले बताए ।
दशैं नजिकै आईरहेको तर आफ्नो ठुलो परिवारलाई एक लाख भएपनि दशैं खर्च नपुग्ने भन्दै मुखिया शाहीले चिन्ता ब्यक्त गरे । उनले भने ‘कसैले सौ पचास रुपैयाँ दिन्छन् कसैले धेरै पनि दिन्छन तर सरकारी कार्यालयले भनें ८ दश हजार सम्म पनि दिएका छन ।’
आफुलाई जंगलको राजा भन्ने र घुमन्ते जाती अन्र्तगत पर्ने राउटे समुदाय पछिल्लो समय बिभिन्न ठाँउमा आर्थिक संकलन गरी परिवार पाल्ने गरेका छन । आफुले निर्माण गरेका काठका सामग्रिहरु पैसामा साँटेर तथा ठुलाबडाहरुलाई उपहार दिएर आर्थिक संकलन गरी दशैं मनाँउने कार्य गरिरहेको समेत राउटेहरु बताँउछन ।