काठमाडौं, १७ भाद्र ।
व्यवस्थापिका संसदको आजको बैठकले “लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई, संशोधन गर्ने विधेयक, २०७१” र “केही नेपाल कानून संशोधन तथा खारेज गर्ने विधेयक, २०७१”लाई पारित गरेको छ ।
बैठकमा कानूनमन्त्री नरहरि आचार्यले यि दुबै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने दुबै प्रस्तावहरुलाई बैठकको सर्बसम्मतीले पारित गरेको हो ।
यसैबीच व्यवस्थापिका संसदको आजको बैठकले विभिन्न स्थानमा भएको घटनाहरु, त्यहाँ भएको भनिएको दमन, हर्ज तीर्थ यात्रीका समस्या र तराईका केही भागमा सुख्खा भई कृषक मारमा परेकाले सरकारलाई यी विषयमा जानकारी दिन रुलिङ गरेको छ ।
बैठकमा सभामुख नेम्वाङले सरकारको ध्यानाकर्षण गराउँदै संसदको अर्को बैठकमा यि विषयहरुमा सम्बन्धित मन्त्रीहरुलाई जानकारी दिन रुलिङ गरेका हुन् ।
व्यवस्थापिका संसदको आजको बैठकमा समय मागेर बोल्दै विभिन्न राजनैतिक दलका सांसदहरुले सिमाङ्कनको विषयलाई लिएर अहिले जारी प्रदर्शनका क्रममा प्रहरीको गोली लागि थुप्रै मानिसहरु मारिएका र प्रहरीले आन्दोलनकारीहरुलाई दमन गरेको र सुख्खा भएको स्थानमा कृषक मारमा परेको भन्दै जोडदार आवाज उठाए पछि सभामुख नेम्वाङले रुलिङ गरेका थिए ।
बैठकको शुरुमै समय मागेर बोल्दै राप्रपा नेपालका दिलनाथ गिरीले मेडिकल कलेजमा भएको भ्रष्टाचारको विषयमा आफ्नो पार्टीले आवाज उठाउँदा अनावश्यक रुपमा बैठक रोक्न खोजेको प्रचार गरिएको भन्दै यस विषयमा जरुरी सार्वजनिक महत्वको रुपमा छलफल गर्नु पर्ने आफ्नो पार्टीले राखेको प्रस्ताव फेल हुनु ज्यादै दुःखद भएको बताएका छन् ।
उनले यस्तो भ्रष्टाचारको संसदीय समिति बनाएर गम्भिर छलफल हुनु पर्ने माग गर्दै यस विषयलाई लिएर सदन अबरुद्ध गर्न आफूहरुलाई बाध्य नपारियोस् भनेका छन् । समय मागेरै बोल्दै नेपाली कांग्रेसका फरमुल्ला मंसुरले आफ्नो हक र अधिकारका लागि मधेशी, आदिवासी, थारु लगायतले शान्तिपूर्ण आन्दोलन जारी राखेकोमा प्रहरीको गोली लागि अहिलेसम्म निकै व्यक्तीले ज्यान गुमाईसकेको भन्दै यि घटनाहरुको विरोध गरेका छन् ।
उनले बारामा हिजो भएको आन्दोलनमा हिफाजत अन्सारीको प्रहरीको गोली लागि मृत्यु भएकाले उनलाई सहिद घोषणा गरि उनका उपरिवारलाई उचित क्षतिपूर्ति दिनुका साथै दुई दर्जन भन्दा बढि घाईतेलाई सरकारले उपचार गर्नु पर्ने माग गरेका छन् ।
त्यस्तै एमालेका संसद नगेन्द्र प्रसाद थारुले बारा र पर्सामा भएको आन्दोलनमा प्रहरीको गोली लागि ६ जनाको मृत्यु भैसकेको र थुपै्र व्यक्ति घाईते भएका र प्रदर्शनकारीहरुले पनि एमालेका पार्टी कार्यालय तोडफोड गर्ने, गिरिजा, मनमोहनका शालिकहरुमा तोडफोड गर्ने काम गरेको भन्दै उक्त कार्यको विरोध जनाएका छन् ।
उनले प्रहरीले अश्रु ग्यार र लाठीबाटै भिडलाई हटाउन सक्नेमा अनावश्यक गोली हानेको दाबी गर्दै गोली सबैको ढाड भन्दा माथि नै लागेकाले प्रहरीको ज्यादती रोक्न माग गरेका छन् । उनले मृतकहरुलाई सहिद घोषणा गरि सार्थक बार्ताको लागि पहल गर्न सरकारसँग जोडदार माग गरे ।
बैठकमा एमाओवादीका प्रभु साहले थारु, दलित, मधेशी आदिले अहिले जारी राखेको आन्दोलनमा दमन गरिएको भन्दै दमनले समस्याको समाधान नहुने भएकाले बार्ता र सम्बादका लागि पहल कदमी लिन सरकासँग माग गरेका छन् ।
उनले प्रदर्शनकारीका जायज मागलाई सम्बोधन गर्नु पर्ने धारणा राख्दै गृहमन्त्रीले विभिन्न स्थानमा भएको घटनाको विषयमा सदनलाई जानकारी गराउन माग समेत गरे ।
एमाओवादी सभासद साहले तराईका विभिन्न भागमा पानी नपर्दा सुख्खा भएकाले त्यहाँ रोपाई गर्न नपाएकाले अहिले त्यहाँका कृषकहरु मर्कामा परेको भन्दै सभामुख मार्फत सरकारलाई यस विषयमा स्पष्ट निर्देशन दिन आग्रह समेत गरेका छन् ।
बैठकमा समय मागेर बोल्दै संघीय समाजवादी फोरमका अशोक राईले एकै दिन मुलुकका विभिन्न स्थानमा गरेर प्रहरीको गोली लागि ६ जनाको मृत्यु भएको, पर्सामा हस्पिटल भित्र नै गएर प्रहरीले मान्छे मारेको आरोप लगाउँदै यस्तो मान्छे मार्ने काम निन्दनी भएको बताएका छन् ।
उनले यि घटनाहरुको विषयमा गृहमन्त्रीले स्पष्ट जवाफ दिनु पर्ने अन्यथा सदनको कामकारबाही अगाडि बढ्न नसक्ने भन्दै जनजाती नेता आङकाजी शेर्पालाई प्रहरीले हिजो पक्राउ गरेको भन्दै सोको पनि आपत्ति प्रकट गरे ।
सांसद राईले विगतमा विभिन्न पक्षसँग सरकारले गरेका सम्झौताहरुको कार्यान्वन गरेर मात्र संविधान जारी गर्नु पर्ने भन्दै सबै पक्षको सहमतिमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै सांसद जाकिर हुसैनले हज कमिटीमा एमालेको छत्र छायाँ रहेको र हज कमिटिको भ्रष्टाचारको विषयमा धेरै वर्ष पहिले देखि नै समाचार आउने गरेको यथार्थ रहेको बबताउँदै १४१६ जनाले हज गर्न जानका निम्ति निवेदन दर्ता गराएकोमा अहिले पक्षपाती तरिकाबाट एक हजारले मात्र जान पाउने बताइएकोमा व्यापक आलोचना गरेका छन् ।
उनले हज गर्न जान इच्छुक १४१६ जनाले नै हज गर्न जान पाउनु पर्ने माग गर्दै यस विषयमा सभामुख मार्फत गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए । बिहीबारको बैठकमा समय मागेर बोल्दै सांसदहरु आशा चतुर्वेदी, मिना पुन, नरेन्द्र साह कलवार, हरिचरण शाह, श्याम श्रेष्ठ, किरण यदव, बलवीर प्रसाद चौधरी, दिपक बोहोरा, प्रेम सुवाल, शिवचन्द्र चौधरी, विचारी यादव, रामहरि खतिवडा,गौली शंकर चौधरीले समसामयिक विषयमा सरकार तथा सदनको ध्यानाकर्षण गराएका छन् ।
समय मागेर बोल्नै सबैजसो सांसदहरुले सिमाङ्कनको विषयलाई लिएर अहिले मुलुका विभिन्न स्थानमा भैरहेको थारु, जनजाती, दलित, मधेशी आदिको जायज मागलाई सम्बोधन गर्नु पर्ने धारणा राख्दै आन्दोलनकारीहरुसँग सार्थक बार्ताका लागि सरकारले गम्भिर पहल नगरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको अर्को बैठक आउँदो २० गते आईतबार बिहान ११ बजे बस्ने गरि आजलाई स्थगित गरिएको छ ।