काठमाण्डौ,१४ भदौ ।
पर्साको वीरगञ्जमा प्रहरीको गोली लागि सात जना घाइते भएका छन । आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमणको प्रयास गर्न थालेपछि प्रहरीले चलाएको रबरको गोली लागेर दश वर्षीय बालक इरफान अन्सारी र मुन्ना यादव , मनोज यादव, अनवर अवारी, मनोज महतोलगायत घाइते भएका छन ।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । चौकीमा नै आक्रमण हुन थालेपछि १० राउन्ड रबरको गोली फायरिङ गरेको अञ्चल प्रहरी प्रमुख मनोज न्यौपानेले बताउनु भयो ।
नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि मध्यान प्रहरीले बाटो खुलाउन खोज्दा झडप भएको थियो । सोही झडपमा आफुहरुलाई प्रहरीले पिटेको भन्दै आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेका छन ।
वीरगञ्ज भन्सार कार्यालयबाट प्रहरीले मालबाहक गाडीहरु स्कर्टिङ गरेर लैजान लागेको भन्दै आन्दोलनकारीले सडक अबरुद्ध पारेका थिए । सोही अबरुद्ध बाटो खुलाउन खोज्दा भएको झडपमा १२ जना घाइते भएका थिए । प्रदर्शनकारीले बीरगंजको घन्टाघरमा रहेको दुरूसंचार कार्यलयमा तोडफोड गरेका छन ।
यसैबिच जिल्ला प्रशासन कार्यालय पर्साले बीरगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । प्रदर्शनकारीले आक्रमणको प्रयास बरामबार गर्न थालेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
स्थिति नियन्त्रणमा लिन अपरान्ह चार बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।