काठमाडौ १२ भदौ । संविधानसभाको बैठक आज पनि बस्दैछ ।
संविधानसभामा जारी विधेयकमाथिको छलफल भोलीसम्ममा टु्ग्याउनु पर्ने कार्यसुची रहेकाले आज सार्वजनिक बिदामा पनि बैठक जारी रहने संविधानसभा सचिवालयले जनाएको छ ।
दिउँसो एक बजेपछि संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विधेयकमाथि बोल्न बाँकी रहेका सभासदहरुले आफ्ना धारणा राख्नेछन् ।
छलफलमा भाग लिन ४ सय ५२ जना सभासदले नाम टिपाएकामा हिजोसम्ममा तीन सय सभासदले बोलिसकेको संविधानसभा सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
विधेयक माथि सैद्धान्तिक छलफल सकिएपछि भोली नै संशोधन प्रस्ताव दर्ताका सभासदहरुलाई समय दिइने बताइएको छ । संविधान सभा नियमावली अनुसार सभासदहरुले विधेयकमा संशोधन दर्ता गर्न सभासदले सात दिनको समय पाउनेछन् ।
संशोधन प्रस्ताव दर्ता गराएपछि संविधान विधेयकमाथिको दफबार छलफल सुरु हुनेछ ।