काठमाडौं, ११ भदौ ।
भोलीको रक्षा बन्धन र जनै पुर्णिमालाई मध्यनजर गर्दै पश्चिम तराईमा आन्दोलनरत थरुहट संघर्ष समितिले १९ दिन देखिको जारी बन्द स्थगित गरेको छ ।
आज मध्यान देखी भोलीसम्मका लागि बन्द स्थगित गरिएको आन्दोलनरत पक्षका नेता बिरु चौधरीले जानकारी दिनुभयो । लगातारको बन्दका कारण निकै प्रभावित बनेको पश्चिम तराईका बाके, बर्दिया, दाङ, कञ्चनपुरमा सवारी साधनहरु सञ्चालनमा आएका छन भने बजार पसलहरु समेत पुर्ण रुपमा खुल्न थालेका छन ।
तर कैलालीको टिकापुरमा सोमबार बेलुकादेखि जारी कर्फ्यु आजपनि कायमै छ । लगातारको कर्फ्युले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । आसपासमा केही पसल खुलेपनि जनजीवन पुरै सहज हुन सकेको छैन । स्थानीय बासिन्दा अझै त्रासमा रहेका छन ।
गत सोमबार दिउँसो हिंसात्मक घटना भएपछि कैलालीको १० वटा गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । नवलपरासीको सदरमुकाम परासी र रामग्राम नगरपालिकामा निषेधाज्ञा कायमै छ । सोमबार बेलुकीदेखि ७ दिनको लागि निषेधाज्ञा लगाइएको हो ।
यस्तै बर्दिया सदरमुकाम गुलरिया र राजापुरमा पनि निषेधाज्ञा कायमै छ । उता तराईका अरु जिल्लामा भने लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । रौतहटमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको छ । पाएको सामान पनि चर्को मुल्यमा किन्नुपरेको उपभोक्ताको गुनासो छ ।