काठमाडौ , ११ भदौ ।
संविधान सभामा परिमार्जित विधेयक माथिको छलफल आज पनि जारी छ ।
छलफलमा भाग लिदै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माण गर्न आठ वर्ष ढिला भैसकेकाले अब कुनै पनि बहानामा ढिला गर्न नहुने बताउनु भयो ।
उहाले बाधा अबरोधलाई पन्छाएर अब तत्काल संविधान घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रलाई सुरक्षित भविष्यतर्फ अगाडि लैजान सबै शक्ति, समुदायले संयमताका साथ अघि बढ्नु पर्ने खनालको भनाई छ ।
नेता खनालले मुलुकमा भइरहेको हिंसात्मक आन्दोलनलाई शान्तिपूर्ण बनाउनु पर्ने बताउदै जनजाति, मधेसी, थारु, दलित मुस्लिम सबैको भवना सम्बोधन गर्ने अधिकतम प्रयास भइरहेको बताउनु भयो ।
यस्तै सभासद प्रकाश शरण महतले मस्यौदा विधेयकमा नमिलेका कुराहरु धेरै भएकाले त्यसलाई सच्याउनु पर्ने धारणा राख्नुभएको छ । महतले जातीयताका आधारमा प्रदेश खोजियो भने संघीयता असफल हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
यस्तै सभासद जनार्दन शर्माले लामो प्रयासपछि संविधान निर्माणको कार्य अन्तिम चरणमा आइपुगेको बताउदै जनताका जायज मागलाई संविधानमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् दिलनाथ गिरीले नेपाली जनताले अपनत्व गर्न सक्ने प्रकृतिको संविधान जारी हुनुपर्ने, सभासद् जनकराज चौधरीले दलित र महिला, मुस्लिम पिछडिएको वर्ग सबैको हित हुने संविधान जारी हुनुपर्ने र सभासद् राजेन्द्रसिंह श्रेष्ठले वंशजका हिंसाले नागरिकता पाउनुपर्ने माग गर्नुभयो ।
बुधबारदेखि सुरु भएको संविधानको विधेयक माथि आज पनि सभासदहरुले बिहानैदेखि धारणा राख्नेक्रम जारी छ । संविधानसभा सचिवालयका अनुसार शनिबार मात्र विधेयकमाथिको छलफल सकिने छ । छलफलपछि सात दिनको समय दिएर सभासदलाई संशोधन प्रस्ताव हाल्न लगाउने तयारी सचिवालयले गरेको छ ।