काठमाण्डौ, १० भदौ ।
नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल बादलका हत्याका अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
कास्कीको लेखनाथ नगरपालिका १ का ५२ वर्षीय पौडेलको हत्या भएको दुई सातापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा प्रत्यक्ष संलग्न भएको अभियोगमा लेखनाथ १६ का कांग्रेस ईकाइ सभापति ३० वर्षीय राजु रानाभाट, तल्लो गगनगौडाका नेपाल आदिबासी जनजाति संघ लेखनाथका सभापति प्रकाश गुरुङ, तरुण दलका १२ वडाका सभापति विश्वास गौत्तम र सातमुहानका बले भन्ने अशोक गुरुङलाई पक्राउ गरेको हो ।
यसैगरी अभियुक्तहरुलाई भगाउन र लुकाउन सहयोग गरेको अभियोगमा तनहुँ दुलेगौडाका ३५ वर्षीय चन्द्रबहादुर थापामगर, नवलपरासी–१ सुनवलका २५ वर्षीय भरत पौडेल, गैडाकोट–२ का ३४ वर्षीय मिनबहादुर घले, गैडाकोट पुलचोकका २३ वर्षीय रविन क्षेत्री र रुपन्देही बेलहियाका ३४ वर्षीय वीरेन्द्रकुमार रानामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
छुट्टाछुट्टै स्थानबाट पक्राउ अभियुक्तविरुद्व कसुर अनुसार सजायका लागि कारबाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताउनुभयो ।