काठमाण्डौ,९ भदौ ।
थारु कल्याणकारिणी सभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच कार्यगत एकता भएको छ । सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
कार्यगत एकताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभा र मोर्चाका नेताले दुवै सङ्गठनको मुद्दामा एकरुपता भएकाले आन्दोलनलाई सशक्त बनाउन कार्यगत एकता गरेको बताएका छन ।
थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य उचितनारायण चौधरीले तराई मधेसमा तीनवटा प्रदेश बनाइनुपर्ने, संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने, उत्पीडित समुदायलाई समानुपातिक आरक्षण दिनुपर्ने लगायतका मुद्दामा एकरुपता रहेकाले दुवैबीच कार्यगत एकता भएको बताउनुभयो ।
आम मूलनिवासी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष झवरप्रसाद रामले आन्दोलनमा सहकार्य गर्ने अवधारण अनुसार आफूहरुले थारु कल्याणकारिणीसभासँग कार्यगत एकता गरेको उल्लेख गर्दै अधिकार नमिलेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।