काठमाडौं,२७ साउन ।
मकवानपुर बहुमुखी क्याम्पसमा सञ्चालक समितिको बैठक चलिरहेका बेला पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ । परीक्षा फारमको विवादलाई लिएर एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवाइमा प्रेटोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
बम प्रहारबाट सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा क्षति पुगेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मकवानपुर क्याम्पस सचिव राकेश महर्जनलाई पक्राउ गरेको छ ।
बैठकमा सहभागी संचालकहरुले घटनाका दोषीलाई अबिलम्ब कारबाही गर्न माग गरेका छन । स्नातक प्रथम वर्षको परीक्षा फारमको विषयमा विवाद हुँदा विद्यार्थीहरुले तोडफोड सहित आगजनी गरेका हुन ।
प्रशासनले भर्ना तथा मासिक शुल्क तिरेमात्र फारम भर्न पाउने बताएपछि आन्दोलीत बनेका विद्यार्थीहरुले फारम शुल्क मात्र तिरेर फारम भर्न पाउनुपर्ने माग राख्दै आएका थिए । सोही बिषयलाई लिएर उनीहरुले बम प्रहार गरेका हुन ।