काठमाण्डौ,२२ साउन ।
प्रमुख दलहरुबिच सिमाङकनको बिबाद टुङयो लाग्न नसकिरहेका बेला सुदूरपश्चिममा बिरोध चर्किदै गएको छ । सुदूरपश्चिम एक प्रदेश हुनु पर्ने माग राख्दै अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिले आजदेखि अनिश्चितकालिन आमहडतालको घोषणा गरेको छ ।
संघीय संरचनामा सुुदूरपश्चिमका ९ जिल्लालाई कुनै पनि हालतमा विभाजन गर्न नहुने भन्दै अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिले बन्द आह्वान गरेको छ । समितिले सुदूरपश्चिमका ९ वटै जिल्ला बन्दको आह्वान गरेपनि कैलाली पूर्ण रुपमा बन्द रहेको छ । बन्दका कारण धनगढी, अत्तरिया, सुखड,लम्की टीकापुर लगायतका बजारहरू खुल्न सकेका छैनन्् ।
कैलालीका प्रहरी प्रवक्ता, डीएसपी विश्वराज खड्काले धनगढी लगायत जिल्लाभर प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडाई गरिएको बताए । बन्दको सबैभन्दा बढी प्रभाव यातायात क्षेत्रमा परेको छ ।
यस क्षेत्रमा छोटो तथा लामो दुरीका यातायात सेवा सञ्चालन हुन सकेका छैनन । सार्वजनिक सवारी साधन नचल्दा एक ठाउवाट अर्को ठाउँ आवतजावत गर्ने यात्रुहरूले सास्ती वेहोर्न परेको छ । बन्दकर्ताहरूले आज विहानै धनगढीमा सुदूरपश्चिम टुक्राउन पाइदैन, अखण्ड सुदूरपश्चिम जिन्दावाद’ भन्दै नाराबाजी गर्दै बजार बन्द गराएका छन ।
