बुटवल, ११ साउन।
नेकपा माओवादी रुपन्देहीले राष्ट्रघाती लिपुलेक सम्झौता, १६ बुँदे सहमति र भ्रष्टाचारीहरुका विरुद्ध गरिएको एक दिने नेपाल बन्दका क्रममा देशभर आफ्ना नेता कार्यकर्ताहरुको गिरफ्तार गरिएको भन्दै त्यसको बिरोधमा बुटवलमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
पाल्पारोडमा रहेको जिल्ला पार्टी कार्यालय रातोघर अगाडीदेखि सुरु गरिएको उक्त मसाल जुलुस ट्राफिकचोकमा पुगेर कोणसभा गरि सम्पन्न भएको छ ।
कोण सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी शरद ओलीले देशको राष्ट्रियता अत्यन्तै कमजोर भइरहेको बेला लिपुलेक सम्झौताले नेपाल र नेपालीको राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको भन्दै यसका विरुद्ध पार्टीले विरोध गर्दा सरकारले आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्नु लज्जास्पद भएको बताउनु भयो ।
उहाँले गिरफ्तारमा परेका आफ्ना नेता कार्यकर्ताहरुको तुरुन्त रिहाई गर्न सरकारसंग माग गर्दै रिहाई नगरे शसक्त आन्दोलन गर्ने बताउनु भयो ।
बाक्लो प्रहरी प्रशासनको उपस्थिति र हस्तक्षेपका बावजुद निकालिएको उक्त जुलुस कार्यक्रममा रुपन्देही जिल्लाका सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जिल्ला सचिवालय सदस्य अमर आरसीको संचालनमा सम्पन्न गरिएको उक्त कोणसभामा गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुको रिहाईको माग गर्दै नाराजुलुश गरिएको थियो ।
