काठमाडौं, ५ साउन ।
प्रधानसेनापति गौरवशमशेर राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा राजनीतिक घोषणापत्रजस्तो भएको आरोप लगाएका छन् ।
उनले मस्यौदाका प्रावधान हुबहु पारित भए नेपाली सेनाको अस्तित्वसमेत समाप्त हुने दाबी गरेका छन् ।
जंगी अड्डामा सोमबार आयोजित पृतनापतिहरूको बैठकमा प्रधानसेनापति राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा दलहरूको राजनीतिक घोषणापत्र भएको आरोप लगाएका हुन् ।
राष्ट्रिय सुरक्षालगायतका मामिलामा दलहरूले आफ्ना घोषणापत्र उल्लेख गरेर लम्बेतान बनाएको, तर मस्यौदा संविधानजस्तो नदेखिएको उनको टिप्पणी छ । ‘नयाँ संविधानको मस्यौदा संविधानजस्तो छैन ।
मस्यौदा राजनीतिक घोषणापत्रभन्दा फरक छैन, प्रतिबद्धतापत्र मात्रै छ । संविधानमै सबै कुरा लेखिसकेपछि कानुन किन चाहियो रु यो ठीक होइन,’ बैठकमा प्रधानसेनापतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरक्षासँग सम्बन्धित विषयमा संविधानको मस्यौदा गम्भीर छैन ।
सेनालाई खुम्च्याउन खोजिएको छ । म त दुई महिनापछि घर जान्छु, तर अहिलेकै मस्यौदा पास भयो भने नेपाली सेनालाई भविष्यमा काम गर्न अप्ठ्यारो हुन्छ ।’
भूकम्पपछि सेनाले सञ्चालन गरेको अपरेसन संकटमोचनको समीक्षाका नाममा बोलाइएको बैठकमा प्रस्तावित संविधान र विद्यमान सुरक्षा अवस्थाले बढी प्राथमिकता पाएको थियो ।
प्रधानसेनापतिले संविधानको मस्यौदामा रहेको सेनासँग सम्बन्धित विषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पठाइएको धारणाबारे ब्रिफिङसमेत गरेका थिए ।सेनाले सोमबार सभामुख सुवास नेम्वाङलाई संविधानको मस्यौदामा लिखित सुझाब हस्तान्तरण गरेको छ ।
सुरक्षा जोखिम बढ्यो प्रधानसेनापति गौरवशमशेर राणाले देशमा सुरक्षा जोखिम थपिँदै गएको, तर सरकार तथा राजनीतिक दलले सुरक्षा निकायलाई नै कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् ।
मुलुकमा सुरक्षा चुनौती थपिँदै गएका वेला सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच मनमुटाव बढाएर अप्ठ्यारो पारेको पनि उनले बताएका छन् ।
सैनिक स्रोतका अनुसार प्रधानसेनापति राणाले प्रहरी र सशस्त्रको माथिल्लो तहको विवादले तल्लो तहमा शान्तिसुरक्षा कायम हुन अप्ठ्यारो परिरहेको भन्दै यसलाई सेनाको तल्लो निकायले सतर्कतापूर्वक अनुगमन गर्नुपर्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।