काठमाडौं, ४ साउन ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सङ्कलित जनताका सुझावहरु जस्ताको तस्तै संविधानसभामा पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नया संविधानको प्रारम्भिक मस्यौदामा जनताका राय सुझाव सङ्कलनका लागि इलाम क्षेत्र नं १ को सूर्याेदय नगरपालिकाको लेप्चा सङ्ग्रहालयमा आज आयोजित सुझाव सङ्कलन कार्यक्रममा नेत खनालले सङ्कलित सुझावलाई जस्ताको तस्तै सभामा पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले नेपालमा संविधान बन्न नदिनेमा धेरै षड्यन्त्र भइरहेको बताउँदैे नेपाली जनता सार्वभौमसत्ता भएकाले संविधान जारी गरेरै छाड्ने दाबी गर्नुभयो ।
संविधान बनाउने कुरामा काँग्रेस, एमाले र एनेकपा माओवादीबीच भएको चट्टानजस्तो सहमतिले संविधान जारी गरेरै छाड्ने उहाँको भनाइ छ । कार्यक्रममा सभासद् सूर्यवाला राईले समेत सुझावलाई जस्ताको तस्तै कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।
इलाम क्षेत्र नं १ मा भएको सुझाव सङ्कलन कार्यक्रममा ४० वटा मौखिक र १०० भन्दा बढी लिखित सुझाव प्राप्त भएको छ । अधिकांश नागरिकले संविधानमा थ्रेसहोल्डको व्यवस्था, सार्वजनिक पदमा बस्नेको शैक्षिक योग्यता, उमेरको हदजस्ता महत्वपूर्ण सुझाव दिएका छन् ।