काठमाडौं, साउन ४ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा छिटै संविधान जारी होस् र स्थिरता कायम होस् भन्ने चाहना भारतले राखेको बताउनु भएको छ ।
एक साता लामो भारत भ्रमण सकेर आज स्वदेश फर्कनु अध्यक्ष दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न भारत तयार बताउनु भयो ।
उहाले कालापानी, सुस्ता, लिपुलेक लगायतका स्थानमा देखिएको सीमा समस्या समाधान गर्ने वचन भारतीय सरकारले दिएको पनि दाबी गर्नुभएको छ । भारत भ्रमणमा क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिह लगायतसंग भेटबार्ता गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो ‘‘नेपाल र नेपाली जनताको भावनालाई सन्दर्भसहित मैले प्रस्तुत गर्दा भारतीय सरकारका तर्फबाट विशेष चासो व्यक्त भएको छ ।उहाँहरुले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समस्याको समाधान गर्ने वचन दिनुभएको छ ।’’
यस्तै उहाले भारतमा रहेका नेपालीले भोग्नुपरेका विभिन्न समस्या, बैंक खाता खोल्दा भोग्नुपरेको अप्ठ्यारो, भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महँगो शुल्क, भारतमा क्रियाशील अखिल भारतीय एकता समाजमाथि लागेको प्रतिबन्ध हटाउनसमेत आफूले भारत सरकारका पदाधिकारीसँग छलफल गरेको बताउनु भयो ।