काठमाण्डौ,३ साउन ।
बिप्लब नेतृत्वको नेकपा माओवादीले सुझावको लागि गाउँगाउँ लगिदै गरेको संविधानको मस्यौदालाई जलाएको छ । अछाम जिल्लाको सिउडी , बिनायक, कमलबजार लगायतका स्थानमा सुरक्षाकर्मीसहित कर्मचारीहरुबाट कब्जामा लिएर माओबादीले मस्यौदा जलाएको हो ।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई लत्याउँदै संसदीय व्यवस्था जबरजस्त लाद्न प्रमुख दलका नेताहरुले संविधान ल्याउन लागेको भन्दै विरोधमा उत्रेको माओवादीले देशभर सुझाव संकलन सामाग्रीसहित मस्यौदा कब्जा लिएर जलाइरहेको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला पार्टीले मस्यौदा कब्जा गरी जलाउनका साथै सुरक्षाकर्मी र कर्मचारीलाई फिर्ता पठाएको स्थानिय नेता राम थापाले जानकारी दिनुभयो ।
यता दाङका दुइ स्थानमा पनि माओवादीले संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन । तुलसीपुर नगरपालिका १० दमार गाउँमा मस्यौदामाथि सुझाव संकलन गर्न भैरहेको छलफलमा माओवादी कार्यकर्ताहरुले नाराबाजी गर्दै मस्यौदा जलाएका हुन ।
यता घोराहीको राप्ती सुपरलजमा आयोजना गरेको मस्यौदा माथीको छलफल र सुझाब संकलन कार्यक्रममा पनि माओबादीका कार्यकर्ताहरुले मस्यौदा जलाएका छन ।
१६ बुँदे सहमतिको जगमा बन्न लागेको संविधान जनयुद्ध र जनआन्दोलनको मर्म विपरित भएको भन्दै मस्यौदा च्यातेर बिरोध गरिएको नेकपा माओवादी दाङका सेक्रेटरी बलबहादुर वली ‘शीतल’ले बताउनु भयो ।
चार दलले गरेको १६ बुँदे सहमति र भारतको सल्लाहमा बन्ने संविधानले नेपालमा शान्ति र अधिकार स्थापित हुन नसक्ने भएकाले आफूहरुले च्यातेको माओबादीका कार्यकर्ताले बताएका छन ।