काठमाडौँ, १ असार ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । हालै प्रमुख दलहरुले गरेको १६ बुदे सहमती तथा भारत र चीनबीचको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा गरेको हो ।
पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले शुक्रबार एक वक्तव्य जारी बन्दको घोषणा गर्नु भएको हो । हालै भारत र चीन बीच भएको लिपुलेक सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गर्न लागिएको वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा भनिएको छ, “हालै भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा मौलाएको भ्रष्टचार एवं कमिसन, मजदुर, किसान, महिला, दलित, जनजाती, मधेशी, मुस्लीम, उत्पीडित क्षेत्रका जनता र राष्ट्रिय उद्यमी व्यवसायी विरोधी संविधानको मसांैदा र नेपाली जनताको संकटग्रस्त जनजीवीका विरुद्धको जन संघर्षको प्रतिनिधित्व गर्ने संघर्षको कार्यक्रमको रुपमा हाम्रो पार्टीले आगामी श्रावण ८ गते नेपाल बन्दको आयोजना गरेको छ” भनिएको छ ।
त्यस्तै भूकम्पले जनतालाई शोकाकुल बनाइरहेको मौका छोपी चार राजनीतिक पार्टीका केही नेताहरुले १६ बुँदे सहमति गरेर जबरजस्ता बलात संविधान निर्माणको जलप लगाउने दुश्साहस गरेको वक्तव्यमा भनिएको छ । अगाडि भनिएको छ, “देश देश र जनताले वैशाख १२ र २९ गतेको भूकम्प र त्यस पछिका निरन्तर पराकम्पनको आतंक, डरलाग्दो मानवीय, आर्थिक एवं भौतिक क्षति र इतिहासलाई मात गर्ने शोकाकुलता बेहोरी रोखेको अवस्थालाई आफ्नो अनुकुलता बनाएर जेष्ठ २५ गते मध्ये राती १२ बजेचार दलको नाममा कथित १६ बुंदे सहमति गरियो । जसलाई बलात संविधान निर्माणको जलप लगाउने दुस्साहास गरियो ।”

१६ बुँदे सहमतिले रोल्पामा भएको माओवादी र संसदवादी शक्तिबीचको सहमति, वृहत शान्ति सम्झौंताको मर्म र भावना, १२ बुँदे सहमति र शान्तिप्रकृयाको क्रममा भएका सबै सहमति एवं समझदारीहरु र अन्तरिम संविधान ०६३ को समेत उलंघन दाबी गरिएको छ । प्रकाण्डले वक्तव्यमा १६ बुँदे सहमति गरेर चार राजनीतिक दलले प्रतिक्रान्तिकारी, प्रतिगामी कदमको चालेको बताउनुभयो ।
“नेपाल बन्द कार्यक्रममा सक्रिया सहभागी भएर भव्य रुपमा सफल पारिदिन हुनका लागि सम्पूर्ण राष्ट्रवादी शक्ति, मजदुर, किसान, महिला, दलित, जनजाती, मधेशी, मुस्लीम, उत्पीडित क्षेत्रका जनता, युवा, विद्यार्थी, शिक्षक, प्राद्यापक, डक्टर, इन्जीनियर, कानुन व्यवसायी, बुद्धिजीवी, राष्ट्रिय उद्यमी व्यवसायी, कुटनैतिक नियोग, पत्रकार लगायत आम जनसमुदायमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी हार्दिक आव्हान गर्दछ” वक्तव्यमा भनिएको छ । नेपाल बन्द गर्नु बाध्यता भएको भन्दै सफल पार्न सहयोग गर्न सबैसँग आग्रह समेत गरिएको छ ।