काठमाण्डौ, ३० असार ।
फ्री भिसा र फ्री टिकटको विरोधमा आन्दोलनरत वैदेशिक रोजगार व्यवसायी र सरकारबीचको वार्ता निश्चितकालका लागि स्थगित भएको छ ।
फ्री भिसा र फ्री टिकटका विषयमा कुरा नमिलेको बताइएको छ । श्रम मन्त्रालयमा बुधबार मन्त्रालयका सचिव र वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिहरुबीच वार्ता भएको थियो । विहानको वार्तामा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी भए पनि अपरान्हको वार्तामा भने उहाँ अनुपस्थित हुनुभएन ।
अधिकांश विषयमा मंगलवार नै मौखिक सहमति जुटेपछि फ्री भिसा फ्री टिकटको निर्णय खारेज, कामदारको भिसा प्रोसेसिङको काम गर्ने भन्दै स्वीकृति दिइएको भीएलएन नेपाल बन्द र बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन । वैदेशिक रोजगार व्यवसायी र सरकारका प्रतिनिधिहरुबीच बुधबार बिहान पनि श्रम मन्त्रालयमा वार्ता भएको थियो ।
यता फ्री भिसा र फ्री टिकटको निर्णय खारेजीको माग गर्दै आएका मेनपावर ब्यवसायीहरुले वार्तासँगै आन्दोलन जारी राखेका छन् । वार्ता र आन्दोलनसँगसँगै अघि बढाउने निर्णय अनुसार वार्ता र शान्तिपूर्ण आन्दोलन कायमै राखिएको संघका महासचिव गुरुङले बताउनुभयो ।
आन्दोलन अन्तर्गत मेनपावर ब्यवसायीहरुले बुधवार श्रम कार्यालय ताहाचलदेखि बबरमहलसम्म पदयात्रा गरेका छन् । श्रम मन्त्रालयमा ब्यवसायी र सरकारका प्रतिनिधिबीच वार्ता भइरहँदा अन्य ब्यवसायीहरुले श्रमग्राम ताहचलमा प्रदर्शन गरेका थिए ।
सरकारले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमनमा वैशाख २१ गतेदेखि फ्री भिसा र फ्री टिकटको ब्यवस्था लागू गरेपछि व्यवसायीहरु आन्दोलित हुँदै आएका छन् ।